इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी

469 shares

काठमाडौँ । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा भएको उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार सात सय ७२ मतका साथ विजयी भएका छन् । उनले नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई पराजित गर्दै प्रतिसभाको यात्रा तय गरेका छन् ।

खड्काले २१ हजार ९ सय ४२ मत प्राप्त गरेका छन् । यता पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू (थेगिम)ले ११ हजार चार सय ५७ मत प्राप्त गर्दा रास्वपाका मिलन लिम्बूले ५ हजार ५० मत प्राप्त गरेका छन् ।

इलामको यो निर्वाचनमा १२ राजनीतिक दल र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिस्पर्धामा थिए । एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए । यो निर्वाचनमा १६ जना उम्मेदवारको जमानत जफत भएको छ । जसमा रास्वपाका मिलन लिम्बु पनि रहेको निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणाममा उल्लेख छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा “निर्वाचन प्रणालीअन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुनेछ”, भनिएको छ ।

यो निर्वाचनमा सदर मत ६८ हजार चार सय ७२ को १० प्रतिशत छ हजार आठ सय ४७ हुन आउँछ । यो भन्दा कम सदर मत पाएका उम्मेदवारको जमानत जफत भएको हो ।

469 shares