‘ज्वाइँ साब’को टिजरलाई कमजोर प्रतिक्रिया

1.06K shares

काठमाडौँ । यतिबेला नेपाली चलचित्र क्षेत्रमा असोज २४ गतेलाई लिएर व्यापक चर्चा छ । दशैँको छेकोमा सार्वजनिक हुने ती फिल्म ‘ज्वाइँ साब’, ‘छक्का पन्जा ५’ र ‘१२ गाउँ’लाई लिएर चर्चा चुलिएको छ ।

‘ज्वाइँ साब’ र ‘छक्का पन्जा ५’ सोसल कमेडि जनराका फिल्म हुन् भने ‘१२ गाउँ’ एक्सन जनराको फिल्म हो । विशेष गरि ‘छक्का पन्जा’ टिमबाटै छुट्टीएका जितु नेपाल अभिनित’ज्वाइँ साब’ उक्त मितिमा आएपछि यो भिडन्त रोचक बनेको थियो । यता, ‘१२ गाउँ’बाट बिराज भट्टका छोरा समिर भट्ट नेपाली रजतपटमा डेब्यु गर्दैछन् । ‘छक्का पन्जा ५’ आफ्नो लिगेसी बचाएर राख्ने दबाबमा छ ।

यस्तोमा ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’को गीत र टिजर सार्वजनिक भइसकेको छ भने ‘छक्का पन्जा ५’ को गीत मात्रै रिलिज भएको छ । ‘१२ गाउँ’को टिजरमा दर्शकको रेस्पोन्स सकरात्मक देखिएको थियो । १ महिना अगाडि सार्वजनिक भएको फिल्मको टिजर १६ लाख पटक हेरिएको छ । यस्तोमा ‘ज्वाइँ साब’को टिजर दुई साता अगाडि सार्वजनिक भएको थियो । टिजरमा ५ लाख २४ हजार भ्युज छ । टिजरमा दर्शकको प्रतिक्रिया पनि कमजोर देखिएको छ ।

‘ज्वाइँ साब’को टिजर आउटडेटेड र स्लो भएको धेरैले प्रतिक्रिया दिएका छन् । तीन फिल्मको भिडन्तका कारण फिल्मको चर्चा चलेपनि टिजरले सो अनुसारको साथ पाउन सकेन । यता केहि दिन अगाडि सार्वजनिक भएको गीतलाई भने दर्शकले मन पराइरहेका छन् । बिहेको दिनको सेटअपमा तयार गरिएको गीत र भिडियोलाई दर्शकले रुचाएका छन् ।

मुख्य कुरा फिल्मको कन्टेन्ट नै हो । यस्तोमा टिजर र ट्रेलरमा आएको प्रतिक्रियाले फिल्मको हाइप उच्च बनाउने हो । सामाजिक संजालमा आएको भ्युजले मात्रै फिल्मको सफलता निर्धारण भने गर्दैन तर, सोसल मिडियाको जमानामा यो कुरा पनि महत्वपुर्ण भने हुन्छ । अब फिल्मको ट्रेलर सार्वजनिक हुन बाँकी छ । ट्रेलरमा पनि यहि खालको प्रतिक्रिया मिल्यो भने फिल्मको व्यापारमा भने पक्कै असर गर्नेछ ।

वसन्त निरौलाको निर्देशनमा बनेको फिल्ममा जितु नेपाल, नीति शाह, बुद्धि तामाङ, रमेश वुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरि वैरागी लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्ममा मिनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहेको छ । फिल्मका कार्यकारी निर्माता विजय बस्याल हुन् ।

1.06K shares