‘पियू अखिल कप फुट्सल’ प्रतियोगिता माघ २ र ३ गते, विजेतालाई १ लाख

वि.सं.२०८१ पुस २२ सोमवार १३:३७

काठमाडौं । अनेरास्ववियु पोखरा विश्वविद्यालय राष्ट्रिय कमिटीको आयोजनामा ‘पियू अखिल कप फुट्सल’ प्रतियोगिताको दोस्रो संस्करण आगामी माघ २ र ३ गते हुने भएको छ । खेल ललितपुरको च्यासलस्थित नेसनल स्पोर्टस सेन्टरमा आयोजना हुने भएको छ । प्रतियोगितामा विभिन्न विश्वविद्यालयका ४० भन्दा बढी कलेजले सहभागिता जनाउने भएका छन् ।
गत वर्ष पोखरा विश्वविद्यालयका आङ्गिक र सम्बद्ध कलेजहरूले मात्र सहभागिता जनाएका सो खेलमा यस वर्षदेखि अन्य विश्वविद्यालयका कलेजहरूलाई समेत सहभागी गराइने भएको छ । यसअघि सो प्रतियोगिता मदन भण्डारी स्मृति कपको नाममा आयोजना गरिँदै आएकोमा गत वर्षदेखि पियू अखिल कप फुट्सलको नामबाट सञ्चालन गरिएको छ ।
प्रतियोगिताको उद्घाटन अनेरास्ववियु केन्द्रीय कमिटीका अध्यक्ष समिक बडालले गर्ने कार्यक्रम रहेको छ । प्रतियोगितामा प्रथम हुने टोलीले १ लाख रुपैँया, दोस्रो हुनेले ६० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।
आयोजनाको तयारी अन्तिम चरणमा पुगेको अनेरास्ववियु पोखरा विश्वविद्यालय राष्ट्रिय कमिटीका अध्यक्ष उमेश भण्डारीलेले जानकारी दिए । उनका अनुसार खेलकुदमार्फत विद्यार्थीहरूबिच एकता र सहकार्यको भावना प्रवर्धन गर्न प्रतियोगिता आयोजना गरिएको हो ।
पोखरा विश्वविद्यालयका इन्चार्ज भरत सिंह धामीलेले अनेरास्ववियुका हरेक अभियान विद्यार्थीहरूसँग नजिक रहने उद्देश्यमा केन्द्रित रहेको बताए । प्रतियोगिताले विद्यार्थीमा खेलकुदको महत्त्व र सहकार्यको भावना बढाउने विश्वास आयोजकले लिएको छ ।

वि.सं.२०८१ पुस २२ सोमवार १३:३७