गायिका एलिना चौहानले गरिन् गृहमन्त्रीसँग भेट
वि.सं.२०८२ असार १७ मंगलवार १२:३९

काठमाडौं । चर्चित गायिका एलिना चौहानले गृहमन्त्री रमेश लेखकसँग् भेट गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत भइरहेका गालीगलौज र चरित्र हत्या सम्बन्धी साइबर दुर्व्यवहारबारे गृहमन्त्री लेखकसँग भेट गरी आवश्यक कदम चाल्न आग्रह गरेकी हुन् ।
यसअघि उनले सोमबार साइबर ब्यूरोमा उजुरी दर्ता गराइसकेकी थिइन्। चौहानले गम्भीर प्रकारका अभद्र टिप्पणी, अपमानजनक सन्देश र चरित्र हत्या गर्ने प्रयासको सामना गरिरहेको बताउँदै आत्म–सम्मानको रक्षा गर्न कानुनी बाटो रोज्नुपरेको स्पष्ट पारेकी छिन्।
भेटपछि चौहानले सामाजिक सञ्जालमा लेखकी छिन्, ‘यो कदम मैले रिस वा घृणाले होइन, आफ्नो अस्तित्व र आत्म–सम्मानको सुरक्षाका लागि उठाएकी हुँ। तपाईंहरूको साथ र सद्भावनाले मलाई अझ अघि बढ्ने हिम्मत दिएको छ।’
एलिनाले पछिल्लो केही समयदेखि आफ्नो फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक प्लेटफर्महरूमा अज्ञात व्यक्तिहरूद्वारा निरन्तर नकारात्मक, अमर्यादित र चरित्र हत्या गर्ने खालका कमेन्टहरू भइरहेको गुनासो गर्दै कानुनी बाटो रोजेकी हुन्। उनले आफ्ना सामाजिक सञ्जालका पोस्टहरूमा गरिएका आपत्तिजनक कमेन्टहरू ती व्यक्तिहरूका प्रोफाइल फोटोहरू सहित सार्वजनिक गर्दै आएकी छन् ।
वि.सं.२०८२ असार १७ मंगलवार १२:३९





