नेपालमा १ लाख बढी युवाले घरमै बसेर अनलाइनमार्फत ३ लाख कमाइरहेका छन् : शिक्षामन्त्री पन्त

1.65K shares

काठमाडौं। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले विज्ञान तथा प्रविधिको विकाससँगै रोजगारीका नयाँ क्षेत्रमा प्रशस्त अवसर खुलेका बबताएका छन् । शनिबार नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा आयोजना गरेको एसइई परीक्षा उत्तीर्ण रामेछापका विद्यार्थीलाई बधाई तथा सम्मान साथै पार्टीका जनसंगठनका केन्द्रीय महाधिवेशनमा रामेछापबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना दिन आयोजना गरिएको कार्यक्रममा बोल्दै मन्त्री पन्तले अहिले काठमाडौंमा एक लाख बढी युवाले घरमा नै बसिबसी अनलाइनमा काम गरेर मासिक ५० हजारदेखि ३ लाख रुपैँया कमाउने गरेका सुनाए ।

नेपालले आइटीमा काम गरेर गत वर्ष ६०–७० अर्ब रुपैँया कमाएका उनले बताए । ’यो त देखिन तथ्याङ्क हो, विभिन्न कम्पनीले ल्याएको पैसा मात्र हो, व्यक्तिले काम गरेको हिसाब जोड्ने हो भने त्यो एक खरब जति पुग्छ, यो धेरै सम्भावना भएको क्षेत्र हो’, उनले भने । अहिले एआईको कारण धेरै क्षेत्रमा मान्छेले गर्ने काम घटेको बताउँदै उनले यसको विकल्प प्रविधिमा जानै पर्नेमा जोड दिए । अहिले धेरै काम अनलाइन मार्फत हुने भएकोले त्यसमा जानु पर्ने उनको धारणा थियो ।

प्रविधिले ज्ञान दिए पनि संस्कार संस्कृति नदिने पन्तले बताए । डिजिटल मिडियाले कतिपय घर, परिवार नै भाँड्ने जोखिम भएको भन्दै यसको उचित व्यवस्थापन गर्न सक्नु पर्नेमा उनले जोड दिए । फेसबुक हेर्ने र त्यसैबाट कुनै विषयमा धारणा बनाउने कुरा गलत भएको उनले बताए । तयार यसबाट भाग्न पनि नसकिने बताउँदै उनले त्यसलाई आफ्नो अनुकूल उपयोग गर्नुपर्नेमा जोड दिए । ‘ डिजिटल दुनियाँबाट भागेर होइन, डिजिटल मिडियाबाट भागेर काम गर्न सकिँदैन, त्यसैबाट काम खोज्नु पर्दछ’, उनले भने ।

नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष प्रमोद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य एवं रामेछाप जिल्ला इञ्चार्ज कमलप्रसाद चौलागाईँ, केन्द्रीय सदस्य माधव ढुङ्गेल, सरस्वती बस्नेत, गीता कार्की, सम्पर्क समन्वय कमिटीको संयोजक श्यामकुमार बस्नेत लगायत सदस्यहरू, वाग्मती प्रदेश कमिटीको अध्यक्ष कैलाशप्रसाद ढुङ्गेल लगायत प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरू, वाग्मती प्रदेश सम्पर्क कमिटीका अध्यक्ष अशोककुमार ठकुरी लगायत पदाधिकारी तथा सदस्यहरू नेकपा एमाले रामेछाप जिल्ला कमिटी उपाध्यक्ष होतराज ढकाल, सचिव प्रकाशकुमार कार्की लगायत पदाधिकारी तथा सदस्य, विभिन्न जनसंगठनका पदाधिकारी तथा सदस्यहरू, रामेछाप–काठमाडौं सम्पर्क मञ्च र मातहतका कमिटीका नेताहरूको सहभागिता रहेको थियो ।

1.65K shares