कार्यकर्ता विद्या भण्डारी पक्षमा खुल्न थालेपछि जनसंगठनलाई बालुवाटारमै बोलाएर ओलीको यस्तो निर्देशन
वि.सं.२०८२ साउन १८ आइतवार ०६:१९

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको आन्तरिक जीवनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रवेशसँगै हलचल छाइरहेको छ । एमालेको केन्द्रिय कमिटीले विद्याको पुनरागमलाई निषेध गर्ने निर्णय नै गरिसकेको छ । तर, कार्यकर्ताहरु विस्तारै खुल्दै जाँदा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी सम्बद्ध जनसंगठनका प्रमुख र इन्चार्जहरुलाई बोलाएर पार्टीका नीति र निर्णयअनुसार सञ्चालन हुन निर्देशन दिएका छन् ।
शनिबार बालुवाटारमा जनसंगठन समन्वय संयन्त्रद्वारा आयोजित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले व्यक्ति भन्दा पार्टीको संस्थागत निर्णयलाई आधार मान्न निर्देशन दिएका हुन् । उनले भने, ‘कुन व्यक्तिले के भन्छ भन्ने होइन, पार्टीले के निर्णय गर्छ भन्ने आधारमा जनसंगठन चल्नुपर्छ ।’
एमालेका २३ वटै जनसंगठनका इन्चार्ज, अध्यक्ष र महासचिव सहभागी बैठकमा संयन्त्रका संयोजक भानुभक्त ढकालले पनि ओलीकै शैलीमा पार्टी विधान, विधि र अनुशासनअनुसार सबै संगठन चल्नुपर्नेमा जोड दिए । हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकबाट विधान महाधिवेशनसम्बन्धी गरिएका निर्णयबारे स्पष्टता प्रदान गर्न बैठक आयोजना गरिएको बताइएको छ ।
बैठकमा सहभागी जनसंगठनका अध्यक्ष र महासचिवहरूले व्यक्तिगत आकांक्षाभन्दा पार्टी नीति नै सर्वोपरि हुने धारणा राख्दै सबै सदस्यलाई नीति अनुसार परिचालित गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै, नीति विपरीत जाने प्रवृत्तिलाई सवक सिकाउने अठोट समेत व्यक्त गरिएको छ ।
बैठकमा आगामी भदौभित्र सबै जनसंगठनले आफ्ना कार्ययोजना तयार गरी पार्टी नेतृत्वमा पेस गर्ने निर्णयसमेत भएको छ ।
वि.सं.२०८२ साउन १८ आइतवार ०६:१९





