इरानमा प्रदर्शनकारी मारिए अमेरिकाले हस्तक्षेप गर्छ : ट्रम्प
वि.सं.२०८२ पुस १८ शुक्रवार १५:०१

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी जीवनयापनको लागतविरुद्धका प्रदर्शन हिंसात्मक बन्दै गएर प्रदर्शनकारीहरूको ज्यान लिइएमा संयुक्त राज्य अमेरिका प्रतिक्रिया दिन पूर्ण रूपमा तयार रहेको चेतावनी दिएका छन् । शुक्रबार उनले इरानले शान्तिपूर्ण प्रदर्शनकारीहरूमाथि घातक कारबाही गरेमा अमेरिका ‘लक एन्ड लोड’ अवस्थामा रहेको स्पष्ट गरे ।
बिहीबार इरानका विभिन्न सहरमा प्रदर्शनकारी र सुरक्षा बलबीच झडप भएपछि अवस्था थप तनावपूर्ण बनेको छ । अशान्ति फैलिँदै जाँदा पहिलो चरणमै कम्तीमा छ जनाको मृत्यु भएको रिपोर्ट सार्वजनिक भएका छन् । राजधानी तेहरानमा आइतबारदेखि पसलहरू बन्द गरेर उच्च मूल्यवृद्धि र आर्थिक अस्थिरताको विरोधमा गरिएको हडताल अन्य क्षेत्रहरूमा पनि फैलिएको जनाइएको छ ।
राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ मार्फत प्रतिक्रिया दिँदै लेखेका छन्, “यदि इरानले शान्तिपूर्ण प्रदर्शनकारीहरूलाई गोली हानी हिंसात्मक रूपमा मार्छ, जुन उनीहरूको चलन हो, भने संयुक्त राज्य अमेरिका उनीहरूको उद्धारमा आउनेछ, हामी लक र लोड अवस्थामा छौँ र जान तयार छौँ ।”
वि.सं.२०८२ पुस १८ शुक्रवार १५:०१





