‘कल्की’ ले तोड्यो ‘जवान’ र ‘एनिमल’ को रेकर्ड
वि.सं.२०८१ असार १९ बुधवार १४:०९

काठमाडौँ । यतिबेला ‘कल्की २८९८ एडी’ले बक्सअफिसमा तहल्का मच्चाइरहेको छ । फिल्मलाई दर्शक र समिक्षकले राम्रो प्रतिक्रिया दिएसँगै कमाई पनि राम्रो गरिरहेको छ ।
दक्षिण भारतीय अभिनेता प्रभासलाई एक दमदार कमब्याकको खाँचो थियो । पछिल्लो फिल्म ‘सलार’ले ठिकठाक गरेपनि ‘आदीपुरुष’बाट उनले दर्शकलाई निराश बनाएका थिए । यस्तोमा ‘कल्की’बाट फेरि एकपटक दर्शकको मन जितेका छन् ।
प्रदर्शनको छैटौँ दिनसम्म आइपुग्दा फिल्मले विभिन्न बक्सअफिस रेकर्ड तोडेको छ । फिल्मले छैटौँ दिनमा २७ करोड ८५ लाख भारु कलेक्सन गरेको छ । भारतीय बक्सअफिसमा मात्रै फिल्मले ३ सय ७१ करोड भारुको कलेक्सन गरेको छ ।
कमाईको मामलामा फिल्मले शाहरुख खानको ‘जवान’ र रनविर कपुरको ‘एनिमल’लाई पछि पारेको छ । फिल्मले छैटौँ दिनमा सबैभन्दा धेरै कमाई गर्ने फिल्मको रेकर्ड राखेको हो । ‘एनिमल’ले छैटौँ दिनमा २७ करोड ८ लाख भारु कलेक्सन गरेको थियो भने ‘जवान’ले २४ करोड भारु कलेक्सन गरेको थियो ।
नाग अश्विनको निर्देशनमा बनेको फिल्ममा प्रभास, अमिताभ बच्चन, दीपिका पादुकोण र कमल हसनको मुख्य भूमिका छ।
वि.सं.२०८१ असार १९ बुधवार १४:०९





