‘जलाकी’को पोस्टरमा धिरज र उपासना : कतै भावुक, कतै रोमान्टिक

3.28K shares

काठमाडौ । गत वर्ष प्रदर्शनमा आएको ‘खुस्मा’ जोडि धिरज मगर र उपासना सिंह ठकुरीको नयाँ चलचित्र ‘जलाकी’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले धिरज र उपासनालाई प्रस्तुत गर्दै दुई पोस्टर सार्वजनिक गरेको हो ।

सार्वजनिक एक पोस्टरमा उपासना धिरजसँग रोमान्टिक देखिएकी छन् । अर्को पोस्टरमा धिरज उपासनालाई चुम्न खोजीरहेका छन् तर उपासना भावुक देखिएकी छन् । फिल्ममा रोमान्स र वियोग रहने देखिएको छ ।

फिल्मको दोश्रो चरणको छायांकनअसोजको २१ बाट सुरु हुँदैछ । फिल्मलाई अशोक थापा मगरले निर्देशन गरेका छन् । उनले यो जोडिलाई लिएर ‘खुस्मा’ निर्देशन गरेका थिए । दर्शकले ‘खुस्मामा’ यो जोडिलाई रुचाएका थिए ।

त्रिकोणात्मक प्रेमकथामा निर्माण हुने फिल्ममा मिस सिक्किम साहारा हाङमा लिम्बु, शिल्पा मास्के, माओत्से गुरुङ, वुद्दि तामाङ, अस्तित्व भट्टचन, संगीता थापा मगर, राजु रेग्मी मगर, खड्क बहादुर पुन लगायतका कलाकारहरूको अभिनय रहने छ ।

‘जलाकी’ मगर समुदायको आस्थाको प्रतिकको रुपमा मानिने ढुंगाले चिनेको स्तम्भलाई बुझाउँछ । फिल्मको छायांकन रुकुम, रोल्पा, म्याग्दी, बाग्लुङ, पोखरा र दक्षिण कोरियामा हुनेछ ।

फिल्मका निर्माताहरूमा ओम घर्ती मगर, बिर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर, मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी छन् । एम मिडिया प्रालिको व्यानरमा निर्माण भइरहेको फिल्ममा शैलेन्द्र डी कार्कीको डीओपी, एसडी योगी र सरित राइको संगीत छ ।

3.28K shares