पानी बाराबारको हल्लाबीच स्वस्तिमा र प्रकाशले जुठो खाए
वि.सं.२०८२ भदौ १ आइतवार १३:१६

काठमाडौँ । केहि दिनयता अभिनेत्री स्वस्तिमा खड्का र प्रकाश सपुतबीच पानी बाराबारको हल्ला फैलिएको थियो । उनिहरुबिच बोलचाल छैन रे भन्दै सिने कार्यक्रम रजतपटमा रिपोर्ट सार्वजनिक भएको थियो ।
प्रकाशले निर्माण तथा निर्देशन गरेको फिल्म ‘वसन्त’को प्रचारमा उल्लेख्य समय नदिएको भन्दै उनिहरुबीच दुरी बढेको अड्कल थियो । फिल्ममा स्वस्तिमाको मुख्य भूमिका थियो । उनिहरुले केहि हिट म्युजिक भिडियोमा समेत साथमा काम गरेका छन् ।
तर हालै सार्वजनिक भिडियोले यो सबै हल्ला भएको पुष्टि गरेको छ । फिल्म ‘हरिबहादुरको जुत्ता’को प्रमोशन भिडियोमा प्रकाश र स्वस्तिमा एउटै कोठामा सँगै बसिरहेका छन् । हास्य कलाकार सिता न्यौपाने प्रवेश गर्छिन् र भन्छिन्, ‘पानी बाराबार भएको सुनेको थिएँ, अझै किन नबोल्ने ? अब मिल्नुस् नि, ढिलो भइसकेछ।’
त्यो संवादसँगै स्वस्तिमा र प्रकाश एउटै गिलास समातेर पानी पिउँछन्। अनि मज्जाले हाँस्छन् । स्वस्तिमा प्रकाशलाई सम्मानका साथ ‘तपाईं’ भन्न आग्रह गर्छिन्, प्रकाश पनि मुस्कुराउँदै मान्छन्।
त्यसपछि प्रकाश भन्छन्, ‘हाम्रो चलचित्र ‘हरिबहादुरको जुत्ता’को पहिलो गीत यही भाद्र २ गते, साँझ ४ बजे ओएसआर डिजिटलमार्फत सार्वजनिक हुँदैछ।’
अनि स्वस्तिमा भन्छिन्, ‘असोज १३ गते फिल्म रिलिज हुँदैछ, सबैले हलमै आएर रमाइलो गर्नुहोला।’
वि.सं.२०८२ भदौ १ आइतवार १३:१६





