मदन भण्डारीको आदर्शलाई झुक्न दिने छैनौँ : ज्ञवाली
वि.सं.२०८० जेठ ४ बिहीवार ०२:२९

नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले मारक्सवादका अभियन्ता मदन भण्डारी र जीवराज आश्रितका आदर्शलाई कमजोर हुन नदिने बताएका छन् । नेकपा (एमाले) कास्कीद्वारा आज पोखरामा आयोजित मदन–आश्रित ३०औँ स्मृति दिवसका अवसरमा नेता ज्ञवालीले भने, “उहाँहरूले कोर्नुभएको बाटोलाई अझ फराकिलो पार्दै जानेछौँ ।”
तीस वर्ष बितिसक्दा पनि चितवनको दासढुङ्गाको घाउ अझै निको भइनसकेको उनको भनाइ थियो । “राष्ट्रवादी नेता भण्डारीको सम्झना देशमा राजनीतिक सङ्कट पर्दा आउने गर्छ”, नेता ज्ञवालीले भने, “राष्ट्रियताको बलियो आवाज चाहिएकै बेला उदाउनुभएका नेता भण्डारी ४० वर्षकै उमेरमा बित्नुभयो ।”
सार्वजनिक जीवनमा आएको तीन चार वर्षमै जनतामाझ ख्याति कमाएका नेता भण्डारीको निधनले एमालेलाई अपुरणीय क्षति मात्र नभई बलियो अभिभावक गुमाउनुपरेको भन्दै नेता ज्ञवालीले भने, “एकाधिकार पूँजीवादको अन्त्य गरी राष्ट्रिय पूँजीवादको निर्माणमा उहाँको योगदान महत्त्वपूर्ण छ ।”
वि.सं.२०८० जेठ ४ बिहीवार ०२:२९





