म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको फाइनलमा

1.34K shares

काडमाडौँ । इंग्लिस क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । सिटीले साविक विजेता तथा कीर्तिमानी १४ पटकको च्याम्पियन रियल म्याड्रिडलाई पराजित गर्दै फाइनलमा पुगेको हो ।

इतिहाद स्टेडियम म्यानचेस्टरमा बुधबार राति भएको खेलमा सिटीको जितमा बर्नाडो सिल्भाले दुई तथा म्यानुयल एकान्जी र जुलियन अल्भारेजले समान एक गोल गरे । सिटीले पहिलो र दोस्रो हाफमा समान दुई गोल गर्न सफल भएको थियो ।

खेलको २३औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाए । उनले केभिन डि ब्रुएनाको पासमा गोल गर्न सफल भएका थिए । ३७औं मिनेटमा सिल्भाले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गरेपछि सिटी पहिलो हाफमा २–० ले अघि बढ्यो ।

७६औं मिनेटमा म्यानुयल एकान्जीले गोल गरेपछि सिटी सहज जिततर्फ अघि बढ्यो । त्यसपछि इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा परिवर्तित खेलाडी अल्भारेजले गोल गर्दै सिटीलाई सानदार जितसहित फाइनलमा पुर्याए ।

1.34K shares