वडा अध्यक्ष कुटपिटको आरोपी लाई युवा संघले गर्यो निष्काशन

2.22K shares
काठमाडौ, भिमदत्त  नगरपालिका–१८ का वडाअध्यक्ष रविन्द्र देबकोटामाथि सांघातिक आक्रमण गरेको आरोपमा राष्ट्रिय युवा संघ नेपालले आफ्ना ३ जना केन्द्रीय सदस्य र १ जना केन्द्रीय विभाग सचिवलाई संघबाट निष्काशन गरेको छ । युवासंघले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै उनीहरुमाथि कानुनी कार्वाही गर्न प्रहरीलाई अनुरोध पनि गरेको छ । गत साता युवा संघ कञ्चनपुरको दशौं अधिवेशनका क्रममा उनीहरुसहितका युवाको हुलले वडाअध्यक्षमाथि निर्घात कुटपिट गरेका आरोप छ । संघका महासचिव सुमन पुरीले जारी गरेको विज्ञप्तिमा लेखा समिति सचिव प्रविण बोगटी, संघका केन्द्रीय सदस्यत्रय केशव चन्द, रोहित कुँवर र नवीन चन्दलाई साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको जनाइएको छ । यसअघि नेकपा एमाले कञ्चनपुरले उनीहरुसहित साात जनालाई पार्टीको संगठित सदस्यताबाटै निष्काशन गरिसकेको छ । राष्ट्रिय युवा संघले कुटपिटलाई सांघातिक र बर्बर आक्रमणको संज्ञा दिँदै आक्रमणमा संलग्नलाई कानुनबमोजिम कारबाही गर्न प्रशासनलाई आग्रह पनि गरेको छ । निर्वाचनका क्रममा कुटिएका पार्टी जिल्ला कमिटी सदस्यसमेत रहेका वडाअध्यक्ष देबकोटाको अवस्था सुधार हुँदै गएको परिवारजनले बताएका छन|
2.22K shares