निराश जनतालाई आशावादी बनाऔँ : गगन थापा
वि.सं.२०८० जेठ २६ शुक्रवार ००:५०

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली समाजमा बढ्दै गएको निराशालाई आशामा बदल्न नेपाली कांग्रेसले पहलकदमी लिनुपर्ने बताएका छन् ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि धनकुटाको पहिलो जिल्ला अधिवेशन उद्घाटनमा आउनुभएका थापाले अहिले देशका सबै राजनीतिक कार्यकर्ता तथा आमनागरिक सरकार र देशको अवस्थाबाट निराश भएको बताए ।
“माओवादी शान्ति प्रक्रिया र संविधान लेखनपछि केही हुन्छ भनेर आश गरेका नेपालीहरूले दुवै कालखण्डपछि केही नभएकाले निराश छन्”, थापाले भने, “यस्तो अवस्थामा आम नागरिकमा उत्साह छर्ने काम नेपाली कांग्रेस तथा पार्टी कार्यकर्ताहरूको हो ।”
सत्ता र सरकारभन्दा नागरिकको सरोकार प्रमुख भएकाले कांग्रेसले नागरिकको समस्या समधान गरेर निराशाको दलदलबाट उनीहरूलाई उठाउनुपर्ने थापाको भनाइ थियो । अर्को प्रसङ्गमा थापाले राजनीतिमा कुनै दुश्मन वा मित्र नहुने कांग्रेसको नीति भएकाले आगामी चुनावमा कांग्रेसले कुनै दलसँग गठबन्धन नगर्ने बताए ।
वि.सं.२०८० जेठ २६ शुक्रवार ००:५०







