झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्रा र आर्थिक सम्पन्नताको एजेण्डा

समृद्धिको एजेण्डा, विकासको एजेण्डा, परिवर्तनको एजेण्डा, रोजगारीको एजेण्डालाई अब सबै राजनीतिक दलको एजेण्डा बन्नुपर्छ

2.35K shares

समृद्धिको एजेण्डा, विकासको एजेण्डा, परिवर्तनको एजेण्डा, रोजगारीको एजेण्डालाई अब सबै राजनीतिक दलको एजेण्डा बन्नुपर्छ । उनीहरूले प्राथमिकताका साथ यी विषय उठाउनु पर्छ ।

जनताको संघर्षबाट राजनीतिक परिवर्तन गरी संविधान ल्याएर निर्वाचन सम्पन्न गरिसकेपछि जनताका जनजीवनसँग जोडिएका कुराहरू प्राथमिकतामा हुनुपर्छ भन्ने मूल विषलाई राजनीतिक दलले ध्यानमा राखेर काम गर्नुपर्छ । यसै कुरालाई ध्यानमा राखेर नेकपा एमालले समृद्ध नेपाल सुखी नेपालीको संकल्प पूरा गर्ने यात्राका रूपमा झुलाघाट–चिवाभञ्ज्याङ मध्यपहाडी लोकमार्ग समृद्धिका लागि संकल्प यात्रा सञ्चालन गर्‍यो । नेपालको इतिहासमा कुनै पनि राजनीतिक दलले आयोजना गरेको यो सबैभन्दा लामो यात्रा थियो । मङ्सिर १४ गते बैतडीको झुलाघाट स्थित महाकाली नदी किनारबाट सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुगेर सम्पन्न भयो ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीकै नेतृत्वमा झुलाघाटदेखि चिवाभञ्ज्याङसम्मको यात्रा सम्पन्न भयो । झुलाघाटबाट सुरु भएको यात्रा चिवाभञ्ज्याङ पुग्दा त्यसले अभूतपूर्व सफलता पायो । जनताको अभूतपूर्व उत्साह, सहभागिता र स्नेह हामीले प्राप्त गर्न सफल भयौँ । यो क्रममा जे उद्देश्य हामीले राखेका थियौँ, त्यो पूर्ण रूपमा सफल भयो । हाम्रो उद्देश्य हामीले साफतापूर्वक प्राप्त गर्‍यौँ ।

यो यात्राले केही महत्त्वपूर्ण विषयलाई सम्बोधन गरेको छ । समस्या देखाएको छ, समाधानको उपाय पनि दिएको छ । मध्यपहाडको चुनौती औँल्याएको छ, सम्भावना पनि देखाएको छ ।

पहिलो– समृद्धि, विकास र आर्थिक परिवर्तन प्रमुख एजेण्डा हो । आर्थिक रूपमा सम्पन्नताको एजेण्डा अब राजनीतिक दलको एजेण्डा बन्नु पर्छ । नेकपा एमालेले विगतमा जसरी राजनीतिक परिवर्तनका लागि अगुवाइ गरेको थियो । त्यसै गरी समृद्ध नेपाल सुखी नेपालीको एजेण्डामा पनि नेकपा एमालेले नै अगुवाइ गर्नुपर्छ भन्ने नागरिकको धारणा छ ।

यो काम एमालेले गर्न सक्छ भन्ने कुरा जनताले विश्वास गरेका छन् । नेकपा एमालेसँग भिजन पनि छ, कार्यक्रम छ, कार्ययोजना पनि छ, त्यो कार्ययोजना र कार्यक्रमलाई लागु गर्न सक्ने क्षमता भएको नेतृत्व छ भन्ने कुराको पुष्टि गर्नको लागि यो यात्राले आधार प्रदान गरेको छ । नागरिकको बिहानदेखि मध्यरातसम्म एमालेको यात्रामा साथ र सहभागिता यसैको प्रमाण हो ।

दोस्रो, यो बिचमा यो सरकारको अकर्मण्यताको कारण, अरू राजनीतिक दलको अयोग्यताको कारण, एक पछि अर्को सरकारले बेहोरिरहेको असफलताको कारण यो व्यवस्था नै दोष दिएर व्यवस्था विरोधीहरू जुरमुराउने एउटा स्थिति बनेको थियो । तर अहिले यो अभियानमा जनताको जुन किसिमको उत्साहजनक सहभागिता देखियो, त्यसले के जनायो भने जनता व्यवस्थाको विकल्प खोजिरहेका छैनन् । जनता संविधानको विकल्प खोजिरहेका छैनन् ।

जनता यही व्यवस्थाका माध्यमबाट आफ्नो एजेण्डा सम्बोधन होस् भन्ने चाहन्छन् । उनीहरूलाई छुने विषय राजनीतिक दलले उठाइदिँदा जनता तिनै दलप्रति विश्वास जाहेर गर्न तयार छन् । त्यो दलको नेतृत्व पुरानो भयो भनेर अनेक खालका भाष्य खडा गर्न खोजिएका थिए, त्यो कुरा खण्डित गरिदिएको छ । सँगसँगै व्यवस्थाका विरुद्ध उत्ताउलो ढङ्गले चलाइएका उटपट्याङ कुरालाई पनि यो यात्राले चिरिदिएको छ । संविधान र व्यवस्थाका विरुद्धमा उत्ताउलो ढङ्गले कुरा गर्नेलाई यो अभियानले राम्रो जवाफ दिएको छ कि जनता यो व्यवस्थाको रक्षा र विकासमा प्रतिबद्ध छन् । व्यवस्था नै उल्टाउने, राजतन्त्र ल्याउँछौँ भन्ने उटपट्याङ कुरा गर्नेलाई यात्राको क्रममा जनसागर उर्लिएर राम्रै जवाफ दिएको छ ।

तेस्रो, यही व्यवस्थाका माध्यमबाट विकास केन्द्रित काममा लाग्नु पर्छ भन्ने पाठ पनि यो यात्राले सिकाएको छ । जनस्तरका विषयलाई लिएर काममा लाग्नु पर्छ । जिल्ला जिल्लाका जनताका समस्या फरक फरक छन् । तल्लो तहमा रहेका जनताका समस्या संकलन गर्न, तिनलाई प्रत्यक्ष रूपमा अनुभूति गर्न र अनुभूति गरेपछि कार्ययोजना बनाउनको लागि यो यात्रा अत्यन्त सफल भएको छ ।

अब भोलि हामीले बनाउने हरेक किसिमका कार्ययोजना, चाहे ती संसदमा उठाउने विषयवस्तु हुन्, चाहे हामीले जितेका स्थानीय तहले प्राथमिकता दिने योजना हुन्, चाहे भोली नेकपा एमालेले पार्टीको कार्यक्रम र घोषणापत्र बनाउँदा यी सम्पूर्ण कामका लागि महत्त्वपूर्ण विषयवस्तु यात्राले प्रदान गरेको छ ।

नागरिकले व्यक्तिगत रूपमा दिनुभएको सुझाव, ज्ञापन-पत्र, सुझाव-पत्र माथि नै उभिएर अब नेकपा एमालेले आफ्ना एजेण्डा अगाडि सार्नुपर्छ, र सार्ने छ । जसका माध्यमबाट भोलि नेकपा एमाले सरकारमा जाँदा पनि केन्द्र, प्रदेश र स्थानीय तहसम्म यी कुरालाई लागु गर्न सक्छ । यस हिसाबले यो यात्रा अत्यन्त उपलब्धिमूलक रहन पुग्यो ।

सारमा नेकपा एमालेले यो यात्राबाट देश बुझ्ने मौका पाएको छ । मध्यपहाडलाई मिहिन ढङ्गले अध्ययन गर्ने मौका पाएको छ । त्यहाँका समस्या पहिचान गरेको छ, सम्भावनाका आधार फेला पारेको छ । समृद्ध नेपाल निर्माणको आधार स्तम्भ भेट्टाएको छ । अब यही आधार स्तम्भमा टेकेर मध्यपहाडको समृद्धिको यात्रा अघि बढ्ने छ ।

2.35K shares