नाजिरको ‘गुन्यो चोलो’ कार्तिक ९ मा रिलिज हुने

721 shares

काठमाडौँ । अभिनेता नाजिर हुसेन फरक फरक चरित्र निर्वाह गर्न सक्ने अब्बल कलाकारको रुपमा परिचित छन् । गतवर्ष उनि अगस्त्यमा एक्सन गर्दै देखिएका थिए । यो वर्ष उनको गुन्यो चोलो– कमिङ अफ एज अफ अ गर्ल’ उर्फ गुलाबी प्रदर्शनमा आउने भएको छ ।

बिहीबार नाजिरको लुक्ससहितको एक पोष्टर सार्वजनिक गर्दै निर्माण टिमले प्रदर्शन मिति तोकेको छ । फिल्म तिहारको अवसरमा कार्तिक ९ गतेबाट प्रदर्शनमा आउने भएको छ । सार्वजनिक पोस्टरमा नाजिर पहेलो रंगको वान पिसमा देखिएका छन् । देव्रे हातमा विग र दाहिने हातमा हिल्स बोकेका छन् । नाजिरको शरिरमा चोटहरु पनि देख्न सकिन्छ ।

उनको पात्रको नाम ‘गुलाबी’ राखिएको छ । उनको श्रृंगार हेर्दा उनि ट्रान्सवुमन लुक्समा देखिएका छन् । पोस्टरले दर्शकलाई उत्सुक बनाउने देखिन्छ । पोस्टर शेयर गर्दै नाजिरले लेखेका छन् –
“मलाई मान्छे कै परिचय देऊ
के , बिना कामको कुरा गर्छौ ?
तिम्रो मनमा जस्तै, मेरो मनमा पनि छन भगवान
तिमी रामको कुरा गर्छौ
रातमा फुलेरै बदनाम छ पारिजात
के नाम को कुरा गर्छौ ।।”
गुलाबी

लामो समयको प्रतिक्षा पछि चलचित्र लिएर आएकाले दर्शकको साथ, माया र हौसलाको अपेक्षा रहेको नाजिरले बताएका छन् ।

समुन्द्र भट्टको निर्देशनमा बनेको चलचित्रको पटकथा र संवाद भट्ट र नाजिरले लेखेका हुन् । आकाश बुढाथोकी र भि.भन्से जानुबोनको लगानी रहेको फिल्मको कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन्।

फिल्ममा नाजिरको साथमा संचिता लुइँटेल, सुशील सिटौला, अनुपम श्रेष्ठ र विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ।

721 shares