‘घरज्वाइँ’ले पाएको नसोचेको सफलता

वि.सं.२०८१ भदौ १६ आइतवार ०७:१०

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका लागि यो वर्षको सुरुवात सुखद् देखिएको थियो । बैशाखमा प्रदर्शनमा आएका ‘बोक्सीको घर’ र ‘मनसरा’ले बक्सअफिसमा राम्रै कलेक्सन गरेका थिए । जेठमा आएको ‘पूजार सार्की’ले पनि दमदार कलेक्सन गर्यो ।
असारको महिना के होला ? भन्ने सोचिएको थियो । प्राय वर्षात्को मौसममा फिल्महरु कमै प्रदर्शन हुन्छन् । यस्तोमा असार २८ गतेबाट दयाहाङ राई र मिरुना मगर स्टारर ‘घरज्वाइँ’ प्रदर्शनमा आयो । फिल्मको प्रचार सामग्रीहरुले खासै चर्चा पाएका पनि थिएनन् । अर्कोतिर, दयामाथि एकैखालको फिल्म गरेको आरोप लागिरहेको थियो । यस्तोमा फिल्मले के गर्ला सबैतिर चासोको विषय बनेको थियो ।
फिल्मले शनिबार प्रदर्शनको ५१ औँ दिन मनाएको छ । कुनै हल्ला खल्लाको बिच बिस्तारै हलमा चलिरहेको फिल्मले पछिल्लो समयमा दुर्लभ बनेको ५१ औँ दिनकै रेकर्ड बनायो । फिल्मले आइएनआईको नयाँ बसपार्क, नयाँ बानेश्वर र बुटवलका ३ वटा हल, गोंगबुस्थित बिएसआर मुभिज, सामाखुसीमा रहेको सिटी स्क्वायर र नेपालगन्जको सिने रोयलमा यो रेकर्ड बनाएको हो ।
निर्माण टिमका अनुसार फिल्मले ६ करोड हाराहारीको व्यापार गरेको छ । दुई करोड आसपासको बजेटमा बनेको फिल्म यो वर्षको चौथो हिट फिल्म बनेको छ । मगर समुदायमा प्रचलित घरज्वाइँ प्रथामा बनेको फिल्मलाई अनिल बुढामगरले निर्देशन गरेका छन् । फिल्ममा जनक घर्तीमगरको लगानी रहेको छ ।

वि.सं.२०८१ भदौ १६ आइतवार ०७:१०