असोज २ देखि शिल्पी थियटरमा ‘मुक्कुमलुङ’ मञ्चन हुने

2.67K shares

काठमाडौं । शिल्पी थियटर बत्तीसपुतलीमा आसोज २ गतेबाट नाटक ‘मुक्कुमलुङ’ मन्चन हुने भएको छ । डा. चित्र माबोको कथासंग्रह ‘डोलीभर्ना’मा आधारित नाटक असोज २ देखि २० गतेसम्म मञ्चन हूने भएको हो ।

राजन मुकारुङले नाट्य रुपान्तरण गरेको नाटकलाई रंगकर्मी पवित्रा राईले परिकल्पना तथा निर्देशन गरेकी छिन् । नाटकको स्रोत व्यक्तिका रुपमा यासेली योङहाङ, स्वप्निल स्मृति र मधु केरुङ ‘केवाफुङ’ छन् ।

नाटकमा रेयर राई, दीपा सुहाङ, नुसा लिङदेन, प्रमिला राई, प्रायस बान्तवा राई, शायोक मुकारुङ, दिवस पयांगु, उदय बेघा लिम्बू, स्मृति कुलमर, उज्वल बान्तवा राई, लहना राई, सुजु सुनुवार, रमिला मोक्तान, आकाश नेपाली, इन्दिरा नेम्वाङ, गोविन्द लिम्बू, हिरन राई लगायतका कलाकारको अभिनय हुनेछ ।
नाटकमा सञ्जीत थुलुङ राईको म्युजिक डिजाइन, मणि किरातीको सेट डिजाइन र सञ्जीव योगीको लाइट डिजाइन हुनेछ ।

ताप्लेजुङको सिरिजंघा गाउँपालिकाको उपाध्यक्ष समेत रहेका डा। चित्र माबोको कथासंग्रह डोली भर्ना केही समयअगाडि सार्वजनिक भएको थियो । पूर्वी पहाडी क्षेत्रको जनजीवन, त्यस बसोबास गर्ने लिम्बू समाजको मुन्धुमी संस्कृति र अन्य समसामयिक विषयमा लेखिएका १५ वटा कथा डोलीभर्नामा संग्रहित छ ।

मुक्कुमलुङलाई आदिवासी लिम्बू जातिले आफ्नो पवित्र आस्थाको केन्द्र एवं मुन्धुमी थलोका रुपमा मान्ने गर्छन् । जुन क्षेत्र अहिले पाथीभराका नामले प्रसिद्ध छ । पछिल्लो समय निजी क्षेत्रको कम्पनीले त्यहाँ केबलकार बनाउने परियोजना अघि बढाउन खोजेपछि त्यसको चर्को विरोध भइरहेको छ ।

2.67K shares