के दयाहाङ राई मंगोलियन भएकै कारण हिट भएका हुन् ?

वि.सं.२०८१ भदौ ३१ सोमवार १३:२९

काठमाडौँ । केहि समयअगाडि अभिनेत्री पूजा शर्माले दयाहाङ राईको बारेमा दिएको अभिव्यक्ति सर्वत्र चर्चामा छ । उनले दयाको ओरिजिनलाई लिएर गरेको असहिष्णु टिप्पणीमा प्रतिक्रियाहरु जारी छन् ।
पूजाले दया मंगोलियन समुदायको भएकै कारण उनका फिल्म हिट भएका बताएकी थिइन् । मंगोलियन समुदायमा एकता भएकाले दया फिल्म हेर्ने उनको तर्क थियो । उनले अझ अगाडि बढेर अर्को जुनीमा मंगोलियन भएर जन्मन पाउँ समेत भन्न भ्याइन् ।
पूजाको यो स्टेटमेन्ट आफैँमा कन्टोभर्सियल थियो । त्यसमाथि उनको फिल्म ‘रावायण’माथि नकरात्मक टिप्पणीहरु भइरहेका थिए । फिल्मको व्यापार गतिलो हुन सकेको थिएन । यस्तोमा उनको विवादास्पद अभिव्यक्तिले झनै असर गर्यो ।
यहाँ गर्न खोजेको कुरा चाँहि दया मंगोलियन भएकै कारण चलेका हुन् ? भन्ने हो । दयाले करियरको सुरुवात ‘दलन’, ‘युवा’ जस्ता चर्चित सिरियलबाट गरे । २००६ मा आएको ‘अनागरिक’बाट उनले ठुलो पर्दामा पाइला राखे । त्यसपछि सहायक भूमिकाहरुमा काम गर्दै अहिलेको व्यस्त अभिनेता बनेको हुन् उनि । उनले ‘दाशढुंगा’मा अभिनय गरेपछि दर्शकमाझ परिचित भए । उनको दमदार अभिनयका कारण फिल्मबाट उनले बेस्ट सर्पोटिङ एक्टरको अवार्ड पाए । त्यसयता दयाले पछाडि फर्केर हेर्नुपरेको छैन ।
पछिल्लो समयका सर्वाधिक व्यस्त र हिट फिल्म दिने अभिनेता हुन् उनि । हाल उनकै फिल्मले नेपाली फिल्म लगभग धानेको जस्तै देखिन्छ । दर्शकहरुको खडेरि भैरहेको बेला पछिल्लो पटक उनले ‘घरज्वाइँ’मार्फत दर्शकलाई हलमा फर्काए । फिल्मले ५१ औँ दिन मनायो ।
दयाले फिल्मी करियरमा भिन्न भिन्न भूमिकाहरुमा काम गरेका छन् । उनको सबैभन्दा सफल सिरिज भनेको ‘कबड्डी’ श्रृंखला हो । त्यसपछि उनको फिल्म ‘जारी’ छ । ‘कबड्डी ४’ हालसम्मकै सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म हो । यस्तोमा उनिमाथि पुजाले लगाएको टिप्पणी सतही र असहिष्णु देखिन्छ । एउटा कलाकारको फिल्म सर्वाधिक दर्शकले हेर्छन । फिल्म हालसम्मकै हिट हुन्छ । त्यो अभिनेतामाथि यस्तो टिप्पणी गर्ने सोच के खायो भने आउँछ होला ?
दयामाथि पछिल्लो समय लाग्ने गरेको आरोप भनेको धेरै फिल्म गरे भन्ने हो । अर्को भनेको उनले आदिवासी जनजातिको कथामा मात्रै धेरै काम गरे भन्ने छ । यस्तोमा दया भन्छन्, “म एउटा समुदायमा जन्मे । मेरो अनुहार मंगोलियन छ । यस्तोमा मैले गर्ने पात्रहरु मंगोलियन नै हुने भए । अर्को कुरा मलाई, नभनिएका कथाहरुमा काम गर्न मन पर्छ, यस्तोमा आदीवासी जनजाती समुदायका धेरै कथा भन्न बाँकी रहेकोले आफुले त्यस्ता कथा र पात्रमा काम गर्ने” बताएका थिए ।
कुनै पनि कलाकारको फिल्म समुदाय विशेषका कारण चल्ने हैन । कलाकार देशको हुन्छ । सबै दर्शकले हेरे मात्रै फिल्म हिट हुने हो । यसरी कलाकारलाई एक समुदायको मात्रै हो भनेर स्टेटमेन्ट दिने पूजाले कम्तिमा माफि माग्नु पर्ने हो ।
कलाकार वा अन्य फिल्मसँग सम्बन्धित व्यक्तिहरु कुन समुदायका हुन् भन्दा पनि फिल्मको कन्टेन्ट कस्तो छ , भन्ने कुराले फिल्म हिट वा फ्लप हुने कुरा जनाउने हो । यो कुरा हाम्रा कलाकारले कहिले बुझ्ने ?

वि.सं.२०८१ भदौ ३१ सोमवार १३:२९