वर्षा र खगेन्द्रको ‘हर्ष’को दुई पोस्टरमा के छ ?
वि.सं.२०८२ भदौ १७ मंगलवार ०७:३६

काठमाडौँ । अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा राउतको मुख्य भूमिका रहेको फिल्म ‘हर्ष’को दुई पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा फिल्मको कथाबस्तु र पात्रको जानकारी दिने कोशिष गरिएको छ ।
दुई पोस्टरमध्ये पहिलोमा खगेन्द्र र वर्षासँगै शर्मिला मल्ललाई खुसी मुद्रामा देख्न सकिन्छ भने कलाकार सन्तोष पन्त असन्तुष्ट भावमा प्रस्तुत भएका छन् । दोस्रो पोस्टरमा खगेन्द्र, वर्षा र सन्तोषसहित विशाल पहारी, लुनिभा तुलाधर, माओत्से गुरुङ र अंशु महर्जन नाचिरहेका देखिन्छन् । नीर शाह भने गम्भीर भावमा प्रस्तुत छन् ।
एकता पौडेलको निर्देशनमा बनेको फिल्म आगामी मंसिर १२ गते प्रदर्शनमा आउने छ । निमा पाण्डे, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, संगीता नापित लगायतको पनि अभिनय रहेको यो फिल्ममा निर्देशक पौडेल स्वयंको कथा छ भने आलोक शुक्लाको छायांकन, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र एकता पौडेलको कोरियोग्राफी रहेको छ ।
फिल्मका निर्माता प्रशन्न पौडेल र विकास पौडेल हुन् । कार्यकारी निर्मातामा हिक्मत चोखल रहेका छन् ।
वि.सं.२०८२ भदौ १७ मंगलवार ०७:३६








