‘परान’ को काव्यात्मक टिजर सार्वजनिक
वि.सं.२०८२ असोज २७ सोमवार ०६:५१

काठमाडौँ । दीपकप्रसाद आचार्य (काकु) को निर्देशनमा बनेको चलचित्र ‘परान’को टिजर सार्वजनिक भएको छ । फिल्मका कलाकार वरिष्ठ अभिनेता नीर शाहको जन्मदिनको अबसर पारेर आइतबार टिजर सार्वजनिक गरिएको हो ।
टिजरमा कवि नवराज पराजुलीको कविता उनकै आवाजमा प्रस्तुत गरिएको छ। कवि पराजुलीका शब्दहरूमा फिल्मका मुख्य कलाकार नीर शाहको मनोभावनालाई प्रमुख रूपमा प्रस्तुत गरिएको छ।
कविताका माध्यमबाट जीवनको उत्तरार्धमा रहेका एक बाबुले छोरासँग जीवनको अन्त्यसम्म साथ पाइयोस् भन्ने आशा व्यक्त गरेको सुन्न सकिन्छ।
कवितामा छोरालाई ईश्वरले दिएको उपहार मान्दै छोरालाई जसरी हुर्काइयो, बढाइयो, एउटा बाबुलाई पनि छोराले जीवनको अन्तिम समयसम्म सोही प्रकारले साथ दिनुपर्ने कुरा व्यक्त भएको छ।
भिडिओमा नीर शाहसँगै अन्य कलाकारहरू मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, महेश त्रिपाठी, बुद्धि तामाङ, प्रवीण खतिवडा, पूजा चन्द, अन्जना बराइली लगायतलाई पनि प्रस्तुत गरिएको छ। यो काव्यात्मक टिजरले दर्शकहरूलाई फिल्मको विषयवस्तुका बारेमा समेत जानकारी दिएको छ।
फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुव्रतराज आचार्य, सुरेश थापा, विनोद राई र बाल कलाकार आर्यादीप आचार्यलगायत कलाकारहरूको अभिनय छ।
रिदम कंडेलको संगीत रहेको फिल्मका गीतमा प्रमोद खरेल, पुष्पन प्रधान र रचना रिमाललगायतले स्वर दिएका छन्। शिवराम श्रेष्ठको डिओपी रहेको फिल्म मित्र डि. गुरूङले सम्पादन गर्दैछन्।
वि.सं.२०८२ असोज २७ सोमवार ०६:५१












