सौगात र बेनिशाको ‘सिटामोल’को टिजर सार्वजनिक

1.98K shares

काठमाडौँ । राष्ट्रिय धान दिवसको अवसर पारेर चलचित्र ‘सिटामोल’को टिजर सार्वजनिक गरिएको छ । आइतबार फिल्मको २ मिनेट लामो टिजर सार्वजनिक गरिएको हो ।

मर्मस्पर्शी टिजरमा ‘जुम्लेलीलाई जीवन जल नै गुन हजुर, रोल्पालीलाई सिटामोल नै सुन हजुर’ भन्दै सुरु गरिएको छ । टिजरमा फिल्मको बारेमा जानकारी दिइएको छ । राज बहादुर सानेको निर्देशन रहेको फिल्मको टिजरमा मुख्य कलाकार सौगात मल्ल र बेनिशा हमालको विवाहपछिको उतार–चढावको मर्मस्पर्शी कथा देखाइएको छ।

फिल्ममा सौगात र बेनिशाको साथमा श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ ।

तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण गरेको फिल्मको प्रस्तुतकर्ता सिमोस सुनुवार हुन्। फिल्मको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन्। भुगोल कुमार कार्की र विकास राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता रहेको फिल्ममा गंगाराम श्रेष्ठ सह–निर्मातामा छन्।

फिल्मका गीतमा बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी छ। दिव्यराज सुवेदीको छायांकन रहेको फिल्ममा बन्दे प्रसादको सम्पादन छ।

फिल्मआगामी साउन २३ गतेबाट प्रदर्शनमा आउनेछ।

 

 

1.98K shares