माग्ने बुढाले भने, “६१ लाख पारिश्रमिक लिएको छैन, फिल्मको प्रचार फण्डाको लागि मात्रै बोलेको हो “

1.37K shares

काठमाडौँ । पछिल्लो समय केदार घिमिरे ‘माग्ने बुढा’को पारिश्रमिकलाई लिएर चर्चा र विवाद भएको थियो । उनले आगामी फिल्म ‘माग्ने राजा’का लागि ६१ लाख रुपैँया पारिश्रमिक लिएको कुरा सार्वजनिक भएपछि चर्चा र विवाद दुवै भएको थियो ।

तर, उक्त विषयमा घिमिरेले खण्डन गरेका छन् । उनले आफूले फिल्मबाट ६१ लाख रुपैँया पारिश्रमिक नलिएको बताएका हुन् । घिमिरेले आइतबार राजधानीमा आयोजित मिसेस नेपाल वर्ल्ड २०२५ को पत्रकार सम्मेलनमा बोल्दै, फिल्मको प्रचार र फण्डाको लागि निर्माताले बोल्न भनेको र आफूले बोलेको मात्र बताए ।

‘मैले त्यो रकम लिएको होइन । कति रकम लिएको भन्ने कुरा सार्वजनिकरुपमा भन्न चाहन्न तर, त्यति पैसा लिएको होइन’ उनले प्रेसमिटमा भने, ‘निर्माता मुनाल घिमिरेजीले बोल्न भनेपछि मैले बोलेको हुँ ।’

उनले अघि भने, ‘दाई, किन यत्रो धेरै धेरै बढाउने बढ्ता भनेर भन्दा तिमी चुप लाग न भाई, तिमीलाई थाहा छैन, मैले दुईचारवटा फिल्म पहिला बनाइसक्या छु । हाइप बढाउनुपर्छ है । जे भनेर भएपनि हल्ला गर्नुपर्छ, हाइप बढाउनुपर्छ भनेर उहाँले बढाइ बढाइ भन्ने ।’

असार पहिलो साता फिल्म ‘माग्ने राजा’ले आयोजना गरेको पत्रकार सम्मेलनमा निर्माता मुनाल घिमिरेले केदारलाई ६१ लाख रुपैयाँ दिएको बताएका थिए । उनले त्यसो बताएपछि केही मिडियाले महंगा कलाकार भन्दै प्रचार गरेका थिए ।

1.37K shares