विवाह नगरी बसेका वा श्रीमतीले छोडेका पुरुषलाई पनि भत्ता

1.44K shares

सामाजिक न्याय स्थापना गर्न कतिपय स्थानीय तहले एकल पुरुषलाई पनि सामाजिक सुरक्षाभत्ता प्रदान गर्न थालेका छन् । समाजमा एकल महिलाभन्दा एकल पुरुषको जीवन कष्टकर बनेको गुनासो आएपछि कतिपय स्थानीय तहले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता प्रदान गर्न थालेका हुन् ।

विवाह नगरी बसेका वा विवाह गरी श्रीमतीको निधन भएको वा श्रीमतीले घर छोडी गएका एकल पुरुषको जीविकोपार्जनमा राहत प्रदान गर्न स्थानीय तहले मासिक पाँच सयदेखि एक हजार पाँच सय रुपियाँसम्म भत्ता प्रदान गर्दै आएका छन् ।

ललितपुरको बागमती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले समाजमा लैङ्गिक समानता र सामाजिक न्याय स्थापना गर्न पाँच वर्षअघि नै गाउँपालिकाले एकल पुरुषलाई मासिक रूपमा भत्ता प्रदान गर्न थालेको बताए ।

उनले भने, “पहिलो र दोस्रो वर्ष मासिक एक हजार रुपियाँ एकल पुरुषलाई भत्ता प्रदान गर्दै आएकोमा गत वर्षबाट सो रकमलाई बढाएर एक हजार पाँच सय रुपियाँ पुर्याइएको छ ।”

उमेर ६० देखि ७० वर्ष भई विवाह नगरी बसेका र श्रीमतीको मृत्यु भई घर परिवारमा आम्दानीको स्रोत नभएका एकल पुरुषलाई भत्ता प्रदान गरिँदै आएको उनले बताए ।

1.44K shares