साम्राज्ञीलाई स्टारडम फर्काउनै सकस
वि.सं.२०८१ जेठ २३ बुधवार ०५:३७

काठमाडौँ । अभिनेत्री साम्राज्ञी आरएल शाहको फिल्मी करिअर अहिले राम्रो चलिरहेको छैन । नेपाली चलचित्र क्षेत्रमा सुखद् सुरुवात गरेकी उनलाई अहिले दमदार कमब्याक फिल्मको खाँचो देखिएको छ ।
पछिल्लोपटक उनि नांगो गाउँमा सहायक भूमिकामा देखिएकी थिइन् । फिल्म हिट पनि भएको थियो । तर, क्रेडिट जति सबै दयाहाङ राई र मिरुना मगरको हातमा पर्यो । यस्तोमा उनको लण्डन टु पेरिस रिलिजको संघारमा छ ।
फिल्मबाट उनको कमब्याक हुने आशा गरिएको छ । तर, फिल्मको ट्रेलर र सार्वजनिक गीतहरुले दर्शकलाई तान्न नसकेपछि उनको कमब्याकको सपना पुरा नहुने हो की भन्ने आशंका उत्पन्न भएको छ । फिल्ममा स्टार कलाकारको रुपमा उनि मात्रै छिन् । कबिर खड्का केहि फिल्महरुमा काम गरे पनि निश्चल खड्का र गरिमा शर्माले यहि फिल्मबाट डेब्यु गर्दैछन् ।
यस्तोमा फिल्म चलाउनुपर्ने दबाब उनिमाथि चर्को देखिन्छ । जेठ २५ गतेबाट प्रदर्शनमा आउने फिल्मलाई घनश्याम लामिछानेले निर्देशन गरेका छन् । ट्राभल लभस्टोरीको कथामा बनेको फिल्ममा युरोपमा बसोबास गर्ने युवायुवतीको कथा देखाइएको छ ।
बोल्ड सिनहरुले भरिएको देखिएको ट्रेलरले पनि युवाहरुलाई तान्न सकेको छैन । यस्तोमा फिल्मको कन्टेन्ट दमदार भयो भने मात्र माउथ पब्लिसिटीका कारण फिल्म चल्न सक्छ । फिल्म हिट नहुँदा त्यसको भारी साम्राज्ञीकै काँधमा आउने देखिन्छ ।
वि.सं.२०८१ जेठ २३ बुधवार ०५:३७





