नेपालमा भएको २ करोड ६० लाख पुरस्कारको पब्जी प्रतियोगितामा मंगोलियाको फोरएमभी विजयी

1.74K shares

काठमाडौँ । पब्जी मोबाइल सुपर लिग–२०२४ को उपाधि मंगोलियाको फोर मेरिकल भाइब (फोरएमभी) ले जितेको छ । मध्य तथा दक्षिण एसियाको स्प्रिङ प्रतियोगितामा फोरएमभीले उपाधिको साथमा ३७ हजार डलर नगत पुरस्कार जितेको हो ।

नेपालमा पहिलो पटक आयोजना भएको सो श्रृंखलामा दुई करोड ६० लाख कुल पुरस्कार राशि रहेको थियो । प्रतियोगितामा १४ देशका १ सयभन्दा बढी खेलाडीहरू सहभागी थिए । प्रतियोगितामा रुस, युक्रेन, बंगलादेश, मंगोलिया, किर्गिस्तान, काजकिस्तान, अर्मेनिया, स्पेन, बेलारुस, बहराइन गरी मध्य र दक्षिण एसियाली क्षेत्रका खेलाडी, कोच, रेफ्री र व्यवस्थापकसहित करिब ३ सय जनाको टोली काठमाडौं आएको थियो ।

जेठ ९ बाट सुरु भएको लिग चरणको खेलमा कुल २० समूह थिए । बिहिबारदेखि शनिबार सॉझसम्म भएको फइनल खेलमा फोरएमभीले १९५ अंकसहित पहिलो स्थान हासिल गरेको हो । फोरएमभीकै डक ले उत्कृष्ट खेलाडी र गनस्लिङ्गरको उपाधि हात पारे ।

लिग चरणको खेलमा पनि प्रथम भएको फोरएभीले ७ हजार डलर जितेको छ । काठमाडौँको बुढानीलकण्ठको भंगालस्थित पीएमएसएल स्टुडियोमा भएको प्रतियोगितामा मंगोलियाकै अर्को समूह ‘फाल्कोन फोर्स’ उपविजेता बनेको छ । फाल्कोन फोर्सले २२ हजार डलर (करिब २९ लाख रुपैयाँ) जितेको छ । प्रतियोगितामा म्याडबुल्स तेस्रो बन्दा आईएचसी चौथो बन्यो ।

दक्षिण एसियाकै प्रतिष्ठित मानिने यस ई–स्पोर्ट्स इभेन्टमा नेपालबाट डीआरएस गेमिङ र होरा ईस्पोटर्स गरी दुई समूह प्रतिस्पर्धामा थिए । डीआरएस सातौं र होरा ईस्पोर्ट्स तेह्रौं स्थानमा रहन सफल भए ।

1.74K shares