जितु र नीतिको बिहे, जन्ति बुद्धि र हिमेश

1.93K shares

काठमाडौँ । बसन्त निरौलाको निर्देशनमा बनेको चलचित्र ‘ज्वाँई साब’को रिलिज मिति तोकिएको छ । निर्माण टिमले फिल्मको फर्स्टलुक पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तोकेको हो ।

फिल्म दशैँको अवसरमा असोज २४ गते फूलपातिबाट प्रदर्शनमा आउने भएको हो । दशैँ बिदाको फाइदा उठाउने हेतुका साथ फिल्मको रिलिज मिति तोकिएको देखिन्छ ।

सार्वजनिक पोष्टरमा फिल्मका मुख्य कलाकार जितु नेपाल र नीति शाह दुलाहा दुलहीको पहिरनमा देखिएका छन् । अर्को पोष्टरमा दुलाहाको पहिरनमा सजिएका जितुलाई हिमेश पन्त र बुद्धि तामाङले डोलिमा बोकेका छन् ।

राजकुमार पण्डितको प्रस्तुतिमा तयार भएको फिल्ममा जितु नेपाल, नीति शाह, बुद्धि तामाङ, हिमेश पन्त, शिशिर वाङ्देल, प्रकाश घिमिरे, रमेश वुढाथोकी, निमा पाण्डे, शिवहरि वैरागी, राजेन्द्र नेपाली, कविता आले लगायतका कलाकारको अभिनय रहेको छ । फिल्ममा सविन अधिकारीको कथा र शंकर धितालको पटकथा तथा संवाद रहेको छ ।

रेड आई फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा बनेको फिल्मका लगानीकर्ता मिनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङ हुन् । फिल्मका कार्यकारी निर्माता विजय बस्याल हुन् ।

1.93K shares