गौरीशंकर उप निर्वाचन : घरदैलो अभियानमा निस्कियो एमाले

588 shares

दोलखा । गौरीशंकर गाउँपालिकामा आगामि मंसिर १६ गते हुने उप निर्वाचनका लागि नेकपा एमालेले आजबाट घरदैलो अभियान सुरु गर्ने भएको छ । एमालेले उपाध्यक्ष पदको उम्मेदवार उमा शेर्पा सहित गाउँपालिकाको ९ वटै वडामा घरदैलो अभियान संचालन गर्ने भएको हो ।

आज उम्मेदवार शेर्पाकै वडा मार्वुबाट अभियानको सुरुवात हुनेछ । गाउँपालिकाको वडा नम्बर ७ मार्वुबाट अभियान सुरु गरेर टोलि भोलिबाट अन्य वडाहरुमा पुग्नेछ । कात्तिक २२ गते चंखु, २३ गते सुरी, २४ गते भm्याँकु, २५ र २६ गते जुँगु, २७ गते खारे, २८ गते सिमिगाउँ र २९ गते टासिनाममा पुगेर पहिलो चरणको घरदैलो अभियान सम्पन्न हुनेछ ।

अभियानमा जानका लागि उम्मेदवारसहितको टोलिलाई पार्टी जिल्ला कमिटीले बिदाई गरेर फिल्डमा खटाएको छ । पहिलो चरणको अभियान सम्पन्न भएपछि दोश्रो चरणको अभियान मनोनयन दर्तापछि हुने एमाले गौरीशंकर गाउँपालिकाका इन्चार्ज जंग गुरुङले बताए । पहिलो चरणमा पार्टीका वडा कमिटी र स्थानीय जनतासँग उम्मेदवार परिचय तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको गुरुङले बताए ।

मंसिर १६ गते हुने निर्वाचनका लागि गौरीशंकरमा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, एकीकृत समाजवादीले उम्मेदवार घोषणा गरेर घरदैलो कार्यक्रम संचालन गरिरहेका छन् ।

588 shares