बक्सअफिसमा सुनामी ल्याइरहेको ‘पुर्ण बहादुरको सारङ्गी’को कथा चोरिको !

वि.सं.२०८१ कात्तिक २५ आइतवार ०९:२४

काठमाडौँ । तिहारको अवसरमा प्रदर्शनमा आएको चलचित्र ‘पुर्ण बहादुरको सारंगी’ले दर्शकको अत्याधिक माया पाइरहेको छ । दोश्रो सातामा पुग्दा फिल्म हेर्न दर्शकको चाप उच्च छ । फिल्मले बक्सअफिसमा त सुनामी नै ल्याएको छ ।
यस्तोमा फिल्मको मुल कथा चोरिएको आरोप लागेको छ । फिल्मको मुलकथा २०२० मा सार्वजनिक भएको उपन्यास ‘सङ्ग्रामपुर’को कथाबाट लिइएको आरोप लागेको छ । उपन्यासका लेखक डाक्टर शिव शंकर बस्यालले फिल्म हेरपछि सामाजिक संजालमा स्टाटस लेख्दै उपन्याससँग फिल्मको कथा मिलेको बताएका हुन् । उनले फिल्मको मुल कथा उपन्याससँग मिलेको बताएका हुन् ।
यस्तो छ बस्यालको स्ट्याटस
१. पूर्णबहादुर र कमल चलचित्रका दुई मात्र मूलमात्र हुन्। जसरी सङ्ग्रामपुर उपन्यासमा रूपमान र समीर
२. पूर्ण बहादुरको स्त्री बिछोडको रहस्यमयी प्रसङ्ग संग्रामपुरमा रुपमानको स्त्री बिछोडको प्रसङ्ग जस्तै रहस्यमयी छ।
३. छोराको पालनपोषणमा दिलोज्यान मरि मेटी पूर्ण बहादुरको शैली रुपमान सङ मिल्दा छन्।
४. आमाको रहस्यमय कथा पूर्ण बहादुरका अगाडि कमलले सोधे जस्तै पटकपटक रूपमानलाई समीरले निरन्तर सोधिरहने प्रसङ्ग मिल्दो छ ।
५. जसरी कमललाई विद्यालयका प्रधानाध्यापकले समाजको निम्न जात भनेर अपमान गरेर व्यङ्ग्य गरेका छन, समीर लगायत रूपमानलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्थात् मुखिया र छोराले उस्तै शैलीमा अपमानित गरेका छन ।
६. पूर्ण बहादुरको सारङ्गीको कमल पनि सङ्ग्रामपुर उपन्यासको समीर जस्तै टप विद्यार्थी हुनु।
त्यही टप भएको खबर सङ्ग्रामपुर उपन्यासको समीरकै शैलीमा दौडिँदै पूर्ण बहादुरको सारङ्गीमा कमलले उही भावमा बाबुलाई खबर बताउनु ।
७. संग्रामपुर उपन्यासको समीरले जस्तै पूर्ण बहादुरको सारङ्गीको कमल गन्धर्वले मेडिकलमा नाम निकाल्नु ।
८. बालाई आर्थिक जोहो गर्न कठिन हुन्छ भनेर सङ्ग्रामपुर उपन्यासको समीरले मेडिकल पढ्न नखोजे जस्तै कमल गन्धर्वले पनि यही भावले मेडिकल पढ्न जान नखोज्नु ।
९. रुपमानकै जोर जबर्जस्तीले समीर मेडिकल पढ्न गए जस्तै पूर्ण बहादुरकै जबर्जस्तीले कमल मेडिकल पढ्न जानु।
यी यी त कथाका मूल प्रसङ्गहरू हुन्। यी बाहेक सूक्ष्म ढङ्गले सङ्ग्रामपुर उपन्यासको प्रभाव त्यहाँ भित्र देख्न पाइन्छ। पूर्णबहादुरले नाचेको नाचको भाव, छोराको परिचयबाट चिनिने प्रसङ्ग, आफ्नो तिघ्रामा बल छ भन्ने दृश्यहरू पनि उपन्यासको छायाचित्रसँग मिल्छन्।
फिल्ममा सरोज पौडेलको कथा, महेश दवाडीको पटकथा तथा संवाद रहेको छ । फिल्ममा विजय बराल, मुकुन भुसाल, प्रकाश सपुत, अन्जना बराइली लगायतका कलाकारहरुको अभिनय छ ।

वि.सं.२०८१ कात्तिक २५ आइतवार ०९:२४