नेपाल चीन बिजनेस समिट : विदेशी लगानी बढाउन निरन्तर सुधारको प्रतिवद्धता

448 shares

काठमाडौँ । नेपालमा चिनिया लगायत विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधार गरिने सरकार र निजी क्षेत्रले प्रतिवद्धता जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ, चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल टेड (सिसिपिआइटी) र चीनस्थित नेपाली दुतावासले संयुक्त रुपमा आयोजना गरेको नेपाल चीन बिजनेस समिटमा नीतिगत र व्यवहारगत सुधार गर्ने प्रतिवद्धता जनाउँदै लगानी विस्तार र व्यापार सहजीकरणका लागि आग्रह गरिएको हो ।

द्धिपक्षीय व्यापार प्रवर्द्वन, पर्यटन क्षेत्रको विकास र नेपालमा चिनिया लगानी आकर्षित गर्ने उद्देश्यले आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीको वातावरण सुधार हुँदै गइरहेको बताए । उनले नेपालमा धेरै क्षेत्र अझै पनि लगानीका लागि आकर्षक रहेकोले लगानीका लागि आग्रह गरे । नेपाल र चीनको परम्परागत सम्बन्ध रहेको बताउँदै दुई देशको आपसी सम्बन्धले आर्थिक विकास सम्भव भएको बताए।

प्रधानमन्त्री ओलीले कुनै पनि मुलुकको सरकार र निजी क्षेत्रको सहकार्यलाई प्राथमिकता दिइएको र सोही अनुसार व्यवसायिक वातावरण बनाउँदै लगिएको बताए । उनले निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको र स्वदेशी एवं विदेशी लगानीको संरक्षणमा सरकार सधै तत्पर रहेको बताए । साथै उनले महासंघले लगानी, पर्यटन र निर्यात प्रवद्र्धनमा देश विदेशमा पहल गरिरहेकोमा महासंघको प्रसंशा पनि गरे ।

चीन नेपालमा सबैभन्दा धेरै लगानी गर्ने मुलुक रहेको र व्यापारमा दोस्रो ठूलो मुलुक भएपनि दुइ देशबीचको व्यापार घाटा चिन्ताको विषय रहेको बताए। नेपालका कृषिजन्य उत्पादनहरुको चीनमा बजार रहेकाले व्यापार सहजीकरणका लागि प्रयत्न गर्नुपर्ने बताए ।

सिसिपिआइटीको मुख्यालय बेइजिंगमा बुधबार आयोजित समिटलाइ सम्बोधन गर्दै चिनिया वाणिज्य उपमन्त्री लिंग जीले चीन र नेपालबीचको सम्बन्ध निकै पुरानो रहेको एवं आर्थिक गतिविधि पनि बढिरहेको बताए । साथै नेपालमा चिनियाले लगानी बढाइरहेको र आगामी दिनमा पनि लगानी बिस्तार हुने बताउनुभयो ।

चीन नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार रहेको बताउनुहुँदै उपमन्त्री जीले चीनको बाटो भएर अन्य मुलुकमा पनि व्यापार बढाउन पारबहन सहजीकरण गरिने बताउनुभयो । चीनले यही डिसेम्बरबाट अतिकम विकसित मुलुकका उत्पादनलाई दिएको भन्साररहित सुविधाले नेपाल लाभान्वित हुने बताए ।

चीन नेपालमा सबैभन्दा बढि लगानीको प्रतिवद्धता जनाउने मुलुक हो भने वास्तविक लगानीमा दोस्रो ठूलो मुलुक हो । उनले नेपालमा पर्यटन र कृषि क्षेत्रमा सहकार्य गर्न चीन तयार रहेको बताए । यसैगरी, उनले नेपालबाट बढिभन्दा बढि वायुसेवा कम्पनीलाई सेवा विस्तार गर्न प्रोत्साहित गर्नुपर्ने बताए ।

यो समिटको दोस्रो संस्करण हो । महासंघ र सिसिपिआइटीले २०२३ सेप्टेम्बरमा पनि यस्तै सम्मेलन आयोजना गरेको थियो । समिटमा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले यो एक बर्षको अवधिमा व्यवसायिक वातावरण बनाउन भएको पहलबारे जानकारी गराए । महासंघको आग्रहमा सरकारले लगानी सम्बन्धी आठवटा कानुन संशोधन गरेको छ, सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले भने, यसैगरी द्धिपक्षीय लागनी सम्झौताको खाका पनि तयार भएको छ ।

यसैगरी, पहिलोपटक नेपालको क्रेडिट रेटिंग भएको र उक्त रेटिंग दक्षिण एसियामा भारत पछि सबैभन्दा राम्रो आएको जानकारी पनि गराए । यसले लगानीकर्ताहरु ढुक्क भएर लगानी गर्ने वातावरण तयार भएको उनको भनाइ थियो ।

साथै उहाँले सीमा क्षेत्रको पुर्वाधार लगायतको स्तरोन्नति एवं भैरहवा र पोखरा विमानस्थलमा चीनबाट सिधा उडानका लागि दुवै देशका सरकार र निजी क्षेत्रले सक्रियतापूर्वक पहल गर्नुपर्नेमा जोड दिए ।

 

448 shares