नाटक ‘यशस्वी भव:’ पछि पिक प्वाइन्टको अर्को नाटक ‘कोही किन बरबाद होस्’ मञ्चन

वि.सं.२०८१ पुस १० बुधवार ०३:३२

काठमाडौँ । सद्भाव थिएटरले समाजमा सकारात्मक परिवर्तनको उद्देश्यसहित नेपाली साहित्यका प्रतिष्ठित नाटककार विजय मल्लद्वारा लिखित नाटक ‘कोही किन बरबाद होस्’ मञ्चन गर्ने सुरू गरेको छ। यस नाटकलाई राम के.ए.सी.ले निर्देशन गरेका छन्।
बालमनोविज्ञान निकै नै संवेदनशील विषय हो । यो कुनैओअनी व्यक्ती, समुदाय, समाज एवं देशकै पनि सभ्यता र समृद्धिको क, ख, रा हो । यही भविष्यको जग पनि हो । नाटक कोही किन बरबाद होस् ले मानिसका विचार, निर्णय, र कार्यले व्यक्तिगत र सामाजिक जीवनमा पार्ने प्रभावलाई गहन रूपमा उजागर गर्नेछ।
यो नाटक सद्भाव थिएटरको ‘शिक्षाका लागि रङ्गमञ्च’ अभियान अन्तर्गत मञ्चन हुँदैछ। सद्भावको यस अभियानमा पिक प्वाइन्ट एडुकेशन नेटवर्कले सहकार्य गरेको हो । यस अभियानले नाटक प्रदर्शनमार्फत विद्यार्थीहरूलाई पाठ्यपुस्तक ज्ञानभन्दा बाहिर व्यवहारिक शिक्षा र नैतिक मूल्यबारे जागरुक गराउने काम गर्दै आएको छ।
नाटकमा पिक प्वाइन्ट एडुकेशन नेटवर्कका विद्यार्थी कलाकारहरूले जीवन्त अभिनय प्रस्तुत गर्दै पात्रहरूको मनोवैज्ञानिक र सामाजिक पक्षलाई गहिरो रूपमा उजागर गरेका छन्। विजय मल्लको मौलिक लेखन र राम के.ए.सी.को कुशल निर्देशनको संयोजनले यो नाटक प्रभावशाली बनेको छ।
नाटकले मनोरञ्जनसँगै दर्शकहरूलाई समाजमा जिम्मेवार भूमिका निर्वाह गर्न प्रेरित गर्ने अपेक्षा रहेको पिक प्वाइन्टका संस्थापक प्रिन्सिपल विनय श्रेष्ठले बताए ।
यस नाटकमा यमलाल गोले, सलिम श्रेष्ठ, सेसेमी इजम, समर श्रेष्ठ, आशिष सापकोटा, आइरिस श्रेष्ठ, सामना थापा, अनिशा लामा, आशा श्रेष्ठ, अरूणा श्रेष्ठ, आशिका भण्डारी, मनिषा तामाङ, सिम्रीका गुरुङ, ऋतु अधिकारी र मेलिना गौतमको अभिनय रहेको छ।
सद्भावको शिक्षाका लागि रङ्गमञ्च अभियानमा जोडिएर रङ्गकर्मी/नाटककार राम केएसीको निर्देशनमा दुईवटा नाटकहरू क्रमशः यशस्वी भव: (लेखनसमेत) र कोही किन बरबाद होस् (परिकल्पना/ निर्देशन) मञ्चनमा ल्याएको हो । सद्भावको यो अभियानले नेपाली समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य राख्दै शैक्षिक अभियानलाई थप सशक्त बनाउने विश्वास पिक प्वाइन्ट पब्लिक स्कुलका प्रिन्सिपल ईश्वर के.सी.ले व्यक्त गरे ।
२०८१ पुस ८ गते सोमबारदेखि शिल्पशाला कुञ्ज नाटकघर, थापागाऊँ, नयाँ बानेश्वरमा विशेष प्रदर्शन हुने थालेको यो नाटक पुस ११ गतेसम्म हरेक दिन बिहान ११ बजे र दिउँसो १: ३० बजे मञ्चन हुनेछ।

वि.सं.२०८१ पुस १० बुधवार ०३:३२