मदन खड्काको निर्देशनमा चलचित्र ‘महाकाव्य’ बन्ने

1.48K shares

काठमाडौँ । लामो समयदेखि म्युजिक भिडियो निर्देशन गरिरहेका मदन खड्काको निर्देशनमा चलचित्र ‘महाकाव्य’ बन्ने भएको छ । हाल प्रि–प्रोडक्सनको काम भइरहेको फिल्मलाई खुशी फिल्मस्को व्यानरमा निर्माण गरिने भएको हो ।

निर्माण टिमले फिल्मको थिम पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा दुई ज्वालामुखी भालाहरुको टक्कर भएको देखाइएको छ । फिल्मको कलाकारको बारेमा केहि खुलाइएको छैन । फिल्म ऐतिहासिक, पौराणिक र आधुनिक फ्यान्टासीको संयोजनमा बन्ने जनाइएको छ । नेपाली फिल्म इतिहासकै नयाँ स्वाद फिल्मले दिने जनाइएको छ ।

फिल्ममा एक नयाँ कलाकार मुख्य भूमिकामा देखिने बताइए पनि उनी को हुन् भन्ने खुलाइएको छैन । निर्माण टिमका अनुसार, ती कलाकारले शारीरिक रुपमा परिवर्तन गर्नुका साथै एक्सन र नृत्यमा गहिरो तालिमसमेत लिएका छन् । भदौबाट यो फिल्मको छायांकन सुरु हुनेछ ।

शान्ति मगरको लगानीमा निर्माण हुन लागेको फिल्मले नेपाली संस्कृति, मिथक र हराउँदै गएका पवित्र स्थलहरूको कथा दृश्यमार्फत देखाउने दाबी गरिएको छ ।

1.48K shares