‘बलिदान’को शीर्ष गीत रिलिज
वि.सं.२०८२ भदौ ३१ मंगलवार ०८:०७

काठमाडौँ । सामाजिक संजाल प्रतिबन्ध र जेनजी आन्दोलनका कारण रोकिएको ‘बलिदान’को गीत रिलिज भएको छ । आज फिल्मको शीर्ष गीत (ओएसटी) सार्वजनिक भएको हो ।
लिरिकल शैलीमा बनेको गीतको शब्द हर्क साउदले लेखेका छन् भने सुजन चापागाँईको स्वर र संगीत रहेको छ । एनिमेटेड दृश्य समेत समावेश गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता समीर भट्ट र अभिनेत्री ऋचा शर्मा प्रस्तुत छन् । ऋचाले समीरकी आमाको भूमिका निभाएकी छन् ।
सन्तोष सेनको निर्देशनमा बनेको फिल्म दशैंको फूलपाती (१३ असोज)मा रिलिज हुँदैछ । आसुसेन फिल्म्सको ब्यानरमा बनेको ‘बलिदान’को लेखन दर्शन जीले गरेका हुन् भने निर्माता पवन ब्राडफोर्ड विष्ट, कार्यकारी निर्माता प्रेम पुरी रहेका छन् ।
फिल्ममा समीर र ऋचासहित सौगात मल्ल, अर्पण थापा, कविता राय, हेमन्त बुढाथोकी, सन्तोष सेन, प्रेम पुरी, कामेश्वर चौरासिया, प्रज्वल दुलाल लगायतको अभिनय रहेको छ ।
वि.सं.२०८२ भदौ ३१ मंगलवार ०८:०७












