हास्य कलाकार पाँडेको निर्देशन रहने ‘झरीपछिको इन्द्रेणी’ शुभमुहूर्त

2.58K shares

काठमाडौँ । हास्य कलाकार अर्जुन घिमिरे पाँडेको डेब्यू निर्देशन रहने चलचित्र ‘झरीपछिको इन्द्रेणी’को शुभमुहूर्त भएको छ । आज साउन १५ खीर खाने दिनलाई विशेष बनाएर ललितपुरस्थित धन्तेरी बाराही मन्दिरमा फिल्मको शुभमुहूर्त गरिएको हो ।

लोकप्रिय टेलिभिजन श्रृंखला ‘भद्रगोल’ र ‘सक्किगोनि’ निर्माण तथा निर्देशन गर्दै आएका पाँडे अब फिल्ममा निर्देशकको रुपमा देखिने भएका छन् । अघिल्लो वर्ष ‘लाज शरणम्’मार्फत फिल्म अभिनयमा देखिएका पाँडेले सो फिल्मको सफलता पछि निर्देशनमा हात हालेका हुन् ।

नयाँ फिल्ममा ‘सक्किगोनि’ टिमबाट प्रियाना आचार्य (मुन्नी) मात्रै सामेल भएकी छन् । अन्य कलाकार चाँडै नै छनोट गरिने निर्देशक घिमिरेले जनाएका छन् । फिल्मबाट झण्डै ९ वर्षपछि कलाकार गणेश उप्रेतीले नेपाली फिल्म क्षेत्रमा कमब्याक गर्दैछन् । फिल्ममा गणेश र प्रियानासँगै निर्मल शर्मा, रमेश उप्रेती, दीपाश्री निरौला लगायतका कलाकारको अभिनय रहनेछ ।

फिल्ममा कुमार व्यञ्जनकार ९कुमार बेन० को कथा, अर्जुन घिमिरे र विशाल घिमिरेको पटकथा, विशाल घिमिरेको सहायक निर्देशन रहनेछ। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको यसमा एउटा गीत रहने जनाइएको छ। बालेन शाहको श्रीमति पनि शुभमूहुर्तमा उपस्थित थिइन् ।

2.58K shares