दर्शकका लागि राम्रो ‘उपहार’ बन्न सकेन

3.62K shares

चलचित्र दृश्यमार्फत दर्शकमा प्रभाव छाड्ने एक सशक्त माध्यम हो । कथाले, संवादले र दृश्यले दर्शकका भावलाई छोएर प्रभाव पार्नुपर्ने चुनौती चलचित्रलाई हुने गर्छ । साथमा दर्शकको मनोरञ्जनको ख्याल पनि चलचित्रले राख्नु पर्ने हुन्छ ।

पछिल्लो केहि महिनायता सुनसान जस्तै बनेको नेपाली चलचित्र क्षेत्र फेरि जुर्मुराउँदै छ । प्रत्येक हप्ता नयाँ फिल्महरु प्रदर्शन भइरहेका छ । यो शुक्रबार पनि तीन नेपाली चलचित्र प्रदर्शनमा आए । फरक फरक कथामा बनेका काँडेतार, रंगेली र उपहार । यहाँ हामि चलचित्र उपहारको बारेमा कुरा गर्नेछौँ ।

उपहार दर्शकको प्रतिक्षामा रहेको चलचित्र हो । लामो समयपछि अभिनेत्री रेखा थापाले कमब्याक गर्न लागेको चलचित्र भएकोले पनि दर्शकको प्रतिक्षाको बिषय त बन्ने नै भयो । त्यसमाथि अहिलेका चलेका दुई अभिनेत्री बेनिशा हमाल र पूजा शर्मा फिल्ममा हुँदा झन् चासो थपिने नै भयो । तीन अभिनेत्रीलाई लिएर निर्देशक ज्ञानेन्द्र देउजाले कस्तो कथा भन्न खोजेका हुन् भन्ने कौतुहलता सबैतिर थियो ।

तीन अभिनेत्री लिडमा छन् भन्ने हुँदा फिल्म महिलाप्रधान हो भन्ने कुरामा सबै जानकार नै थिए । फिल्ममा पनि तीन पात्रहरुकै कथा देखाइएको छ ।

फिल्मको मुल कथा यस्तो छ, रेखा थापा (मुना) को पात्र सडकपेटिमा चिया बेच्छिन् । त्यहि नै बेला उनको भेट मुकुन भुषाल (मदन) सँग हुन्छ । दुई परिश्रमिबिचको भेट प्रेममा परिणत हुन्छ । उनिहरुको साझा सपना हुन्छ । देशमै केहि गर्ने । विशेष कारणले मदन विदेशिनु पर्छ । मुना भने देशमै पौरख गरेर बस्छिन्, मदनलाई पर्खेर ।

त्यहि बिचमा बेनिशा हमाल (निशा) र पूजा शर्मा (पूजा) मुनासँग जोडिन पुग्छन् । त्यसपछि तीन पात्रहरुले के के गर्छन ? मुना र मदनको अधुरो प्रेम पुरा हुन्छ कि हुँदैन त्यो भने फिल्मनै हेर्नुपर्ने हुन्छ ।
अब कुरा गरौँ समग्र फिल्मको बारेमा । फिल्ममा धेरै नै कमजोरीहरु छन् । पहिलो कुरा फिल्मलाई पुरानो फर्मुलामा निर्माण गर्न खोजिएको छ । एउटा समय थियो फिल्ममा ५–६ वटा गीत अनावश्यक फाइट सिट अनिवार्य रुपमा राख्नु पर्ने । हसाउँनका लागि जथाभावि कमेडि सिन राख्नु पर्ने । आजको समयमा दर्शक धेरै माथि उठिसके भन्ने लाग्छ । इन्टरनेटको सहजताले दर्शकले देश दुनिँयाका धेर थोर फिल्हरु ह्ेर्न भ्याइसके । यहाँनिर निर्देशकले दर्शकको आजको चेतनालाई अवमूल्यन गर्न खोजेको भान हुन्छ ।

फिल्मको कथा सडकपेटिमा व्यवसाय गरेर सफल उद्यमि बन्न खोज्ने पात्रको बारेमा भन्न खोजेको देखिन्छ । तर कथा जता बग्नुपर्ने हो त्यता बग्दैन । अन्त कतै रुमल्लिएर बसेको देखिन्छ । फिल्मको कथा बिचतिर गएर रोकिन्छ अगाडि नै बढ्दैन । फिल्म अन्यत्र कतै मोडिन्छ । फेरि लिकमा आउन खोज्छ तर कथा सकिसकेको हुन्छ ।

फिल्ममा पात्रहरुको लेखन पनि कमजोर देखिन्छ । निशाको पात्र वकिल हुन्छ तर उनले बोल्ने कतिपय संवादहरु अध्ययन नै नगरि राखिएको छ । पूजाको पात्र पनि त्यस्तै छ । फिल्ममा अर्कि अभिनेत्री शुष्मा कार्की पनि रहेकी छन् । तर उनको भूमिका फिल्ममा के हो भन्ने नै छैन । उनको पात्र यति कमजोर छ कि फिल्मबाट उनको पात्र हटाइदिँदा फिल्मको कथालाई कुनै फरक नै पर्दैन ।

फिल्ममा अन्य कलाकारहरुको पनि हालत उस्तै छ । कलाकारको थुप्रो मात्र फिल्ममा देख्न सकिन्छ । पूजा र समर्पण कार्कीलाई जोडिको रुपमा देखाइएको छ । तर उनिहरुबिचको केमेष्ट्रि कतै मेल खाँदैन ।
फिल्मको कतिपय प्लटहरु किन राखिएको छ भन्ने नै थाहा हुदैन । कलाकारहरुको अभिनयमा नयाँपन केहि छैन । समग्रमा बेनिशा हमालको अभिनयले भने केहि राहत दिन्छ । अन्य कलाकारको अभिनयले धेरै ठाउँमा बिझाउन सक्छ । पूजा शर्माको लाउड अभिनयले धेरै ठाउँमा नै बिझ्न सक्न । उनको यो खालको अभिनय हामिले अन्य फिल्ममा पनि हेरिसकेउ ।

फिल्मको सिनेम्याटोग्राफिले भने केहि हदसम्म शितलता दिन्छ । अन्य कुरा फिल्ममा नयाँपन केहि पनि छैन ।

रेखा थापा लामो समयपछि कमब्याक गर्नु आफैँमा सुखद कुरा हो । उनका समयका अधिकांश कलाकारहरु फिल्मबाट टाढा भइसके । उनि अझैपनि अभिनय र फिल्म निर्माणमा सक्रिय हुनु नेपाली चलचित्र क्षेत्रका लागि राम्रो कुरा हो ।

कथा, अभिनय, संवाद, ब्याकग्राउण्ड म्यूजिक, सिनेम्याटोग्राफि सबै हेर्दा फिल्मलाई ५ मा २.५ स्टार दिन्छु ।

3.62K shares