असोज ३ बाट नीता ढुंगानाको ‘ह्रस्व–दीर्घ’ आउट

वि.सं.२०८१ साउन ३२ शुक्रवार ०६:२७

काठमाडौँ । ठुलै चर्चाकोबीच प्रदर्शनमा आउन लागेको चलचित्र ‘ह्रस्व–दीर्घ’को प्रदर्शन मिति सरेको छ । असोज ३ गतेबाट प्रदर्शनमा आउने भनिएको चलचित्रको मिति सरेको छ ।
फिल्मको प्रदर्शन स्थगित भएको निर्मात्री तथा अभिनेत्री नीता ढुंगानाले सामाजिक संजाल मार्फत जानकारी दिएकी हुन् । फिल्मको सम्पादनको काम मुम्बईमा चलिरहेको छ । प्राविधिक कार्य बाँकी रहेकालाई प्रदर्शन स्थगित गरिएको नीताले बताइन् ।
यस्तो छ नीताको स्ट्याटस –
‘निर्धारित प्रदर्शन मिति असोज ३ मा आउने तयारीका बीच हाल मुम्बईमा पोस्ट–प्रोडक्सनमा रहेको फिल्मको प्राविधिक टिमबाट फिल्मलाई थप उत्कृष्ट बनाउन विशेषतः प्राविधिक कामहरू सम्पन्न गर्न थप समय लाग्ने भनि केहि समय माग भइआएकोले उक्त मितिमा ‘ह्रस्व दीर्घ’ प्रदर्शनमा ल्याउन असमर्थ हुने निर्णयमा पुगेका छौं । वितरण कम्पनीसँग निरन्तर छलफल र संवाद अघि बढिरहेकोले यथाशीघ्र नयाँ प्रदर्शन मिति सार्वजनिक गर्नेछौं । यो सुचनाले यहाँहरूमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं ।’
‘ह्रस्वदीर्घ’ सरेपछि दुई नेपाली फिल्मलाई थोरै भएपनि राहत हुने भएको छ । सोहि मितिमा सुशिल श्रेष्ठ स्टारर ‘आउट ल’ र ‘खुस्मा’ प्रदर्शन हुँदैछन् ।

वि.सं.२०८१ साउन ३२ शुक्रवार ०६:२७