‘बेहुली फ्रम मेघौली’को ‘छड्के सलाम’ गीत सार्वजनिक

वि.सं.२०८१ साउन ३२ शुक्रवार १०:४५

काठमाडौँ । अगामी असोज १७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बेहुली फ्रम मेघौली’को तेश्रो गीत सार्वजनिक भएको छ । शुक्रबार एक कार्यक्रम गर्दै फिल्मको छड्के सलाम बोलको गीत सार्वजनिक गरिएको हो ।
बिहे घरको रमाइलोलाई देखाइएको गीतको भिडियो अब्बल देखिएको छ । गीत बिहेहरुमा रोजाइमा पर्ने देखिएको छ । पछिल्लो समय फिल्मका गीतहरु कमजोर खालका देखिएको बेला छड्के सलाम दर्शकको नजरमा पर्न सक्ने देखिन्छ । फिल्मको यसअगाडि ‘बिहे गर्ने कि नगर्ने रु’ र ‘उडायो मन’ गीत सार्वजनिक भइसकेका छन् ।
आज सार्वजनिक भएको गीतको शब्द तथा संगीत जयन जे वाइबाको रहेको छ । गीतमा कालीप्रसाद बाँस्कोटा, निश्चल बस्नेत र बबिना किराँतीको पार्श्व गायन रहेको छ । भिडियोलाई प्रदीप लामा र रेविका खत्रीको कोरियोग्राफीमा तयार पारिएको हो । भिडियोमा फिल्मका मुख्य कलाकार निश्चल बस्नेत र स्वस्तिमा खड्काको दमदार नृत्य हेर्न सकिन्छ ।
साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको फिल्ममा स्वस्तिमा र निश्चलसँगै विजय बराल, टीका पहारी, बसुन्धरा भुसाल, लोकेन्द्र लेखक, सिम्रन खड्का लगायतका कलाकारको अभिनय रहेको छ । फिल्ममा निश्चल र स्वस्तिमाको लगानी रहेको छ । फिल्मका कार्यकारी निर्माता शंकर पाण्डे र फिरोज खड्का हुन् ।

वि.सं.२०८१ साउन ३२ शुक्रवार १०:४५