बुबाछोराको कथामा ‘पूर्णबहादुरको सारंगी’को टिजर (भिडियो)

वि.सं.२०८१ भदौ १६ आइतवार १२:३७

काठमाडौँ । कात्तिक १५ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘पूर्णबहादुरको सारंगी’को टिजर सार्वजनिक भएको छ । आइतबार बुबाको मुख हेर्ने औँशीको छेको पारेर टिजर सार्वजनिक गरिएको हो ।
टिजरमा सन्तानको खुसिको लागि बुबाले गर्ने प्रयत्नलाई देखाइएको छ । बुबाको रोलमा बिजय बराल रहेका छन् भने छोराको भूमिकामा प्रकाश सपुत रहेका छन् । मार्मीक खालको टिजरले दर्शकलाई टिज गर्ने देखिन्छ ।
गन्धर्व परिवारको कथा भन्ने फिल्मलाई सरोज पोडेलले निर्देशन गरेका छन् । निर्देशक पौडेलकै कथा रहेको फिल्मको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् । फिल्ममा विजय र प्रकाशको साथमा मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिशा बास्तोला, श्याम केसी, जानवी पौडेल लगायतका कलाकारको अभिनय रहेको छ ।
फिल्मलाई सेभेन सिज सिनेमा र बाँसुरी फिल्मसको प्रस्तुति निर्माण गरिएको हो । फिल्ममा विनोद पौडेल र प्रतीक सुवेदीको लगानी रहेको छ । फिल्मका कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल हुन् ।

वि.सं.२०८१ भदौ १६ आइतवार १२:३७