‘पूर्णबहादुरको सारङ्गी’ले रच्यो इतिहास, बन्यो सर्वाधिक कमाउने फिल्म
वि.सं.२०८१ कात्तिक २८ बुधवार ११:४६
काठमाडौँ । कात्तिक १५ गतेबाट प्रर्दशनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले नेपाली बक्सअफिसमा इतिहास रचेको छ । फिल्मले १३ दिनमै सर्वाधिक कमाई गर्ने नेपाली फिल्मको रेकर्ड बनाएको छ ।
यसअगाडि ‘कबड्डी ४’ को नाममा सर्वाधिक कमाई गर्ने फिल्मको रेकर्ड थियो । ‘पूर्णबहादुरको सारङ्गी’ले उक्त रेकर्ड १३ दिनमा तोडेको छ । फिल्मले मंगलबारसम्म २५ करोड ४ लाख ग्रस कलेक्सन गरेको छ । ‘कबड्डी ४’ को कलेक्सन २३ करोड ५० लाख भएको दावी गरिएको थियो ।
फिल्मको वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टका अनुसार मंगलबारमात्रै फिल्मको कलेक्सन २ करोड ५ लाख रुपैँया ग्रस थियो । हलमा दर्शकको चाप हेर्दा फिल्मले ३० करोडको आँकडा सजिलै पार गर्ने देखिन्छ ।
फिल्मले यसअगाडि एकैदिन सर्वाधिक कमाउने फिल्मको रेकर्ड समेत बनाएको थिए । कात्तिक २४ गते फिल्मले ३ करोड ८९ लाखको कलेक्सन गरेको थियो । हाल फिल्मको देशभर शोज ४५० भन्दा धेरै छ ।
सरोज पौडेलको निर्देशन रहेको फिल्ममा फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहेको छ । विजय बराल, अञ्जना बराइली, प्रकाश सपूत, मुकुन भुसाल, माओत्से गुरुङ, विनोद न्यौपाने, शंकर आचार्य, बुद्धि तामाङ, देशभक्त खनाल, भोलाराज सापकोटा, अलिसा बास्तोला, श्याम केसी, सरिता शाह लगायतको अभिनय छ ।
वि.सं.२०८१ कात्तिक २८ बुधवार ११:४६