सलमानको ‘गलवान’बाट अनुपको बलिउडमा डेब्यु

1.39K shares

काठमाडौँ । अभिनेता तथा रोडिजका ग्याङ लिडर अनुप विक्रम शाही अब बलिउड फिल्ममा देखिन लागेका छन् । अनुपले भारतीय सुपरस्टार सलमान खानको वार ड्रामा फिल्म ‘ब्याटल अफ गलवान’ मार्फत बलिउड यात्रा सुरु गरेका हुन्।

केही दिनअघि भारतको लद्दाखमा सम्पन्न पहिलो चरणको छायांकनमा अनुपले सलमानसँगै अभिनय गरेका थिए। बलिउड डेब्युलाई लिएर उत्साहित देखिएका उनले सामाजिक सञ्जालमार्फत केही तस्बिर सेयर गर्दै लेखेका छन्—
“लद्दाखमा मेरो पहिलो बलिउड फिल्मको पहिलो सेड्युल पूरा गर्न पाउँदा अत्यन्त सम्मानित र कृतज्ञ महसुस गरेको छु। सलमान खान सर र निर्देशक अपूर्व लाखियासँगको आगामी यात्राका लागि निकै उत्साहित छु।”

जेनजी आन्दोलन सकिएलगत्तै उनी लद्दाख पुगेका थिए र तीन दिनको छायांकनपछि नेपाल फर्किएका थिए। अब एक महिनापछि मुम्बईमा हुने दोस्रो चरणको छायांकनमा पनि अनुप सहभागी हुनेछन्। यसको अर्थ, फिल्ममा उनको भूमिका महत्त्वपूर्ण रहनेछ। अनुपका अनुसार लद्दाखमा छायांकनकै क्रममा सलमानले नेपालको कला र संस्कृतिप्रति विशेष चासो देखाएका थिए।

फिल्म ‘ब्याटल अफ गलवान’ सन् २०२० मा लद्दाखको लाइन अफ एक्चुअल कन्ट्रोल ९ीब्ऋ० मा भारतीय र चिनियाँ सेनाबीच भएको हिंसात्मक झडपको वास्तविक घटनामा आधारित छ। यो भारतीय सेनाका कर्नेल सन्तोष बाबुको बायोपिक हो, जसमा सलमान मुख्य भूमिकामा छन्। फिल्ममा सलमान र अनुपसँगै चित्रांगदा सिंह, सुरेश नायर, अंकुर भाटिया लगायत कलाकारको पनि अभिनय रहनेछ।

 

1.39K shares