सरकार र अदालत भारतको गुलाम भए : बालेन

1.46K shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले नेपाल सरकार र अदालत भारतको गुलाम भएको भनेर कडा टिप्पणी गरेका छन् । बिहीबार सामाजिक सञ्जालमा उनले अदालतले ‘आदिपुरुष’लाई चलाउन दिनु भन्नु भारतको गुलाम भएको बुझिन्छ भनेर लेखेका छन् ।

दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’लाई लिएर सुरु देखिनै विवाद भएको थियो । फिल्ममा समावेश जानकी भारतीय छोरी हुन् भन्ने संवादलाई लिएर विवाद सुरु भएको थियो । मेयर बालेन शाहले उक्त संवाद नहटाए हिन्दी फिल्म काठमाडौँमा प्रदर्शन रोक्ने चेतावनी दिए । त्यसपछि विवाद चरम उत्कर्षमा पुग्यो । बालेनको प्रतिक्रियालाई लिएर फिल्मका लेखकले नेपाल भारतकै अंश थियो भनेर टिप्पणी गरिदिए । पछि फिल्मको निर्माण टिमले माफी पत्र समेत पठायो ।

विवाद चरम उत्कर्षमा पुगेपछि फिल्मका नेपाली वितरकले फिल्म प्रदर्शन नगर्ने निर्णय गरे र अदालत पुगे । त्यस्तै, संचारमन्त्री रेखा शर्माले बालेनको कदमलाई स्टन्टबाजीको संज्ञा दिइन् ।

सबै घटनाको जवाफ स्वरुप बालेनले सामाजिक सञ्जालमा यस्तो लेखेका छन् –

“जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन । फिल्म लेखकले नेपाल भारत को अधिनमा थियो भनी सके पछि उनिहरु को नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो , अदालत र सरकार भारतको गुलाम भएको बुजिन्छ । यसको लागि जुन सुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन ।”

1.46K shares