६ करोड बढि खर्चेर ‘गुमनाम नायक’का लागि सुविधासम्पन्न ‘पोर्टर हाउस’ बनाउँदै निम्सदाइ

1K shares

काठमाडौँ । निर्मल पूर्जा ‘निम्स दाई’ ले सगरमाथा आरोहण दलका सामाग्री बोकेर जाने भरियाका लागि बास बस्ने घर बनाउने अभियान सुरु गरेका छ । पर्वतारोहण क्षेत्रमा विश्वमै दुर्लभ किर्तिमान कायम गरेका उनि पछिल्लो समय सामाजिक कामहरुमा पनि उत्तिकै सक्रिय देखिन्छन् ।

उनको यो अभियानलाई खुम्बु पासाङ ल्हमु गाउँपालिकाले समेत साथ दिएको छ । अब सगरमाथा क्षेत्रमा आरोही तथा पदयात्रीका सामान बोक्ने भरियाले अब आरामदायी बास पाउने छन् ।

आरोही तथा पदयात्रीहरुले होटलमा आरामदायी बास पाउने तर भरियाहरु २ घण्टा टाढासम्मको ठाउँमा गएर बस्नुपर्ने बाध्यता छ । यस्तोमा पोर्टर हाउस बन्दा भरियाहरुले आरामदायी बास बस्ने ठाउँ पाउने निर्मत पूर्जाले बताए । आरोही र पदयात्रीको मात्रै नाम चर्चामा हुन्छ तर ति गुमनाम हिरोहरु जसले उनिहरुको नाम चम्काउन मद्दत गरे तिनको अवस्था भने खराब छ । यस्तोमा अब भरियाहरुले खुल्ला आकाशमा रात विताउनुपर्ने बाध्यताको अन्त्य हुने पुर्जा बताउँछन् ।

निम्सदाइ फाउण्डेसनले सामाजिक उत्तरदायित्व अन्तरगत पोर्टर हाउस निर्माण गर्न लागेको हो । फाउण्डेसनका प्रतिनिधि गोविन्द बरुवालका अनुसार, अब भरियाहरूको बस्ने ठाउँ खोज्नकै लागि १० किलोमिटर अतिरिक्त हिँड्नु पर्ने दुःख अन्त्य हुनेछ । साथै उक्त घरमा एक पटकमा ८० जनाले बास बस्न सक्नेछन् ।

२१ सय ७३ वर्गफिट क्षेत्रफलमा बन्ने दुईतले भवन समुन्द्र सतहदेखी ५ हजार ३० मिटर उचाइमा रहेको छ । भवनमा दुईवटा बाथरुम, पाँचवटा ट्वाइलेट, एउटा ट्रिटमेन्ट रुम, किचन, डाइनिङ, वेटिङ रुमलगायत सुविधा रहने बताइएको छ । पोर्टर हाउस बनाउन पुर्जाले ६ करोड भन्दा बढी खर्च गर्नेछन् ।यही वर्ष आएको थामेको बाढीको उद्धार तथा राहतमा साधनस्रोत प्रयोग गरेकोले पोर्टर हाउस निर्माण प्रक्रियामा केही ढिला भएको र अव राहत तथा उद्धारको काम सकिएलगत्तै हाउसमा ध्यान केन्द्रित गर्ने बताइएको छ ।

निम्स दाईले भारी बोक्ने श्रमिक अर्थात भरियालाई ‘गुमनाम नायक’ भन्ने गरेका छन् । हिमाली क्षेत्रका शक्ति भनेकै भरिया भएको भन्दै आरोही पुर्जाले आफ्नो फाउण्डेसनको वेबसाइटमा परियोजनालाई ‘गुमनाम नायकहरूको सम्मानमा बनाइने स्वर्ग’ भनेर पोर्टर हाउसको व्याख्या गरेका छन् ।

विश्वका ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमालमध्ये १३ वटा हिमाल बिना अक्सिजन सफल आरोहण गरेका पूर्जा अहिले विश्वकै चौथौ अग्लो शिशापङ् (८०२७ मि) हिमाल आरोहणमा निस्किएका छन् ।

पूर्जाले जाडो सिजनमा विश्वकै दोस्रो अग्लो ‘के–टु’ हिमालको समेत आरोहण गरी विश्वभरका आरोहीलाई चकित पार्ने किर्तीमानी समेत कायम गरेका छन् । हिमाल आरोहणका क्रममा पूर्जाले मृत्यु पर्खेर बसेका आरोहीको उद्धार तथा मृतक आरोहीलाई निशुल्क हेलिकप्टरबाट समेत ल्याउने गरेका छन् ।

1K shares